बारा पुगेर माधव नेपालले भने, ‘संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ’


२३ चैत्र २०७९, बिहीबार
upendra yadav madhav
तस्वीर : उपेन्द्र यादवको सचिवालय

बारा । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन् ।

जसपा अध्यक्ष एवम् बारा क्षेत्र नं. २ मा प्रतिधिनिसभा सदस्यका उम्मेदवार यादवको निर्वाचन क्षेत्र पुगेका नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता औंल्याएका हुन् । बाराको क्षेत्र नं २ मा सत्ता गठबन्धनको साझा उम्मेदबार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए ।

बारा २ को चुनावी मैदानमा रहेका यादवलाई भेटमा नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका हुन् । नेता नेपालले भने, ‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई विजयी गराउन पार्टी पंक्ति र सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’

नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे । अध्यक्ष नेपालले बुधबार नै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग पनि भेट गरेका थिए । भेटका क्रममा मधेश सरकारका गतिविधि र बाराको चुनावी अभियानबारे छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७