मेयर शाहको अडान : १४ माग पूरा नभएसम्म सिंहदरबारको फोहोर उठ्दैन


२९ चैत्र २०७९, बुधबार
Balen Shah

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले आफूले उठाएका १४ बुँदे माग पूरा नभएसम्म सिंहदरबारदेखि शीतल निवाससम्मको फोहोर नउठाउने अडान दोहोर्‍याएका छन् ।

संघीय सरकारको हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले शाहका गतिविधि अराजक र गैरजिम्मेवार ठहर गर्दै गम्भिर ध्यानाकर्षण गराउने निर्णय गरेको भोलिपल्ट मेयर शाहले आफ्ना मागबारे वार्ता नभएसम्म फोहोर नउठाउने स्पष्ट पारेका हुन् ।
महानगर प्रमुख साहले सोमबार अघि सारेका १४ बुँदे मागबारे संघीय सरकार वार्तामा आएर पूरा गर्न तयार नभएसम्म सिंहदरबारको फोहोर नउठाउने निर्णयबाट पछि हट्न नसकिने अडानमा रहेको वडा नम्बर–११ का अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।

मेयर शाहको भनाइबारे उनले भने, ‘संघीय सरकारको असहयोगका कारण महानगरले काम गर्न कठिनाइ भएको छ । ती १४ कारण सम्बोधन भएपछि फोहोर उठ्छ ।’

वडाअध्यक्ष तण्डुकारले सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालयको फोहोर नउठे पनि सर्वसाधारणको नरोकिएको बताएका छन् । उनले भने, ‘सर्वसाधारणको घरको फोहोर उठाउन कहीँ रोकिएको छैन । यदि संघीय सरकारले महानगरका मुद्दा सुन्न तयार भए फोहोर भोलि नै उठ्न थाल्छ ।’
यस्ता थिए मेयर शाहले उठाएका १४ सवाल
१. गृह मन्त्रालय : अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी– ३ मन्त्रीसँग पटक–पटक पहल, सहमति भएर माइन्युटसमेत भइसकेको तर कार्यान्वयन नभएको ।

२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार ।

३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टीभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा– दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरि सेवा दिनलाई बजेट व्यवस्थापन– दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।
५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल– दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।
६. अर्थ मन्त्रालय : ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनुपर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम– २ मन्त्रीसँग पटक पटक पहल ।

७. सहरी विकास : खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौँमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा– ४ मन्त्रीसँग पटकपटक पहल ।

८. भौतिक यातायात : रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन– दुई मन्त्रीहरूसँग पटकपटक पहल ।
९. सूचना तथा सञ्चार : आईएसपी र टेलिकमबीच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस– २ मन्त्रीसँग पहल ।
१०. ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग– २ मन्त्रीसँग पहल ।

११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयूकेएलको उचित व्यवस्थापन पहल– २ मन्त्रीसँग पटक पटक पहल ।

१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण– मन्त्रीसँग पटक पटक पहल ।

१३. सङ्घीय मामिला : तीनकुने विवाद पहल, कर्मचारी सरुवा– दुई मन्त्रीसँग पटकपटक पहल ।

१४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण– मन्त्रीसँग पटक पटक पहल ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७