पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ {तस्वीरहरु}


५ बैशाख २०८०, मंगलवार
Tourist china pokhara

पोखरा । नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् । साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले स्वागत गरेका थिए ।

Tourist china pokhara 3

सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । उनले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटनमार्फत पर्यटन भित्र्याउन सकिने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको जनाउँदै राज्य र निजी क्षेत्रको सहकार्यबाट पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेका उनको भनाइ थियो । नार्कका अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको सराङकोटबाट मान्द्रेढुङ्गा सारिएको प्याराग्लाइडिङमा पहिलोपल्ट यति धेरै चिनियाँ पर्यटकबाट प्याराग्लाइडिङ हुनु निकै सकारात्मक सन्देश भएको बताए ।

Tourist china pokhara 1

उनले भने, ‘हामी निकै खुशी छौँ, सुस्ताइरहेको पर्यटन र प्याराग्लाइडिङ क्षेत्रमा यति धेरै विदेशी पाहुनाले प्याराग्लाइडिङ गर्नुभएको छ , यसले नयाँ ठाउँलाई प्रवद्र्धनमा पनि सघाउ पुर्‍याउने छ ।’ उनले चीनको ‘आउटबाउण्ड’ गन्तव्यको सूचीमा नेपाल परेको चिनियाँ पर्यटकको आगमनले पर्यटन प्रवर्द्धनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नाका महासचिव खेमराज आचार्यले पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने बताए । उनले साहसिक खेलप्रेमीका लागि प्याराग्लाइडिङबाट सुन्दर दृश्यवलोकनका लागि मान्द्रेढुङ्गा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताए । उनका अनुसार चिनियाँ ९० जनासहित दुई सय ५० जनाले मान्द्रेढङगाबाट प्याराग्लाइडिङ गरेका थिए ।

Tourist china pokhara 4

पहिलो पटक नेपाल आएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको बताइन् । पहिलो पटक नेपाल आएको सुनाउँदै उनले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिइन् । उनले अन्य साथीलाई नेपाल घुम्नका लागि सुझाव दिने बताइन् । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा एक सय ८१ जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका थिए । नाकाका पूर्व अध्यक्ष कृष्ण भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै माघ १ देखि मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान भए पनि पर्यटकको आगमन बढन नसकेको अवस्थामा चिनियाँ टोलीको उडानले उत्साह थपेको बताए ।

साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ ।

प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडान सुरु गरिएको हो । यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्गाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुन्छ ।

हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७