बुङ झरनामा पर्यटक बढ्दै


१६ बैशाख २०८०, शनिबार
jharana bung lamjung

लमजुङ । लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको बुङ झरनामा यतिबेला पर्यटक बढ्न थालेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग छेउमै रहेको यस झरनामा केही समयअघिसम्म एक सयको हाराहारीमा आउने गरे पनि यतिबेला दैनिक दुई सय ५० भन्दा बढी पर्यटक आउन थालेका हुन् ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार बुङ झरना निकै राम्रो रहेको र अन्नपूर्ण पदमार्गमा आउने विदेशी तथा स्वदेशी पर्यटक झरनामा रमाउने गरेका छन् । पदमार्ग छेउमै रहेको र रमणीय झरनाको दृश्य देखिने भएकाले झरनाले पर्यटकलाई लोभ्याउने गर्दा पदमार्गमा आउने पर्यटक एकपटक झरना नहेरी नजाने उनको भनाइ छ ।

पालिकामा रहेका यस्ता पर्यटकीय झरनालाई थप व्यवस्थित गर्दै अघि बढ्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए । छहराले त्यहाँ पुग्ने जो कसैलाई पनि लोभ्याउँछ । स्थानीय पर्यटन व्यवसायी बाबुराम तामाङले भने, ‘यस झरनामा यतिबेला पर्यटक बढ्दै गएका छन्, यस पदमार्गमा आएका विदेशी र आन्तरिक पर्यटक गरी दैनिक दुई सयदेखि तीन सयसम्म झरनामा आउने गरेका छन् ।’

यस झरनामा आउने पर्यटक बढ्दा आम्दानी समेत आफूले राम्रो गरिरहेकाले उत्साहित बनेको उनले सुनाए । उनले भने, ‘सुरुआतमा यहाँ आफूले मात्र होटल सञ्चालन गरे पनि पछि पर्यटक वृद्धि हुँदा आम्दानी बढेकाले अन्य दुई-तीन पसलसमेत थपिएको र पसलमा समेत राम्रो व्यापार हुने गरेको छ, छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन् त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन्, प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले आकर्षित गरेको छ ।’ सदरमुकाम बेँसीसहरबाट झरना ३२ किलोमिटर दूरीमा पर्दछ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७