नारायणगढ–बुटवल सडक निर्माणले अपेक्षा अनुसार लिए गति


२२ बैशाख २०८०, शुक्रबार
ngt butwal sadak
फाइल फोटो

काठमाडौँ । सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि अझै आशा गरिएअनुसार प्रगति हुन सकेको छैन ।

सो आयोजनाको प्रगति गत महिनासम्म दुईदेखि तीन प्रतिशत रहेको थियो । वर्षात्का बोला ज्यादै कम काम भए पनि अहिले कामको गति केही बढेको हो । ठेक्का थपिएको अवधि साउनसम्ममा सकिनु पर्नेमा अहिलेसम्मको दुवै ठेक्कामा गरी प्रगति झण्डै ३१ प्रतिशत रहेको छ ।

अहिलेसम्म पश्चिम खण्डमा भौतिक प्रगति २९ दशममलव ०९ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । झण्डै साढे पाँच किमी सडकमा एक तहको कालोपत्र सकिएको नारायणगढ–बुटवल सडक पश्चिमखण्ड आयोजनाका इञ्जीनियर शिवु खत्रीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म जम्मा दुई सय मिटर बाटोमा मात्रै दुई तहको कालोपत्र भएको छ । एक तहमा पहिले छ सेन्टिमिटरको कालोपत्र गरेपछि दोहोर्‍याएर चार सेन्टिमिटर गरेपछि कालोपत्र पूरा हुन्छ । उनले भने, ‘अहिले चार लेनमध्ये दुई लेनमा मात्रै काम भइरहेको छ ।’

केही महिनायता निर्माणको प्रगति बढेको र पछिल्लो महिनामा पश्चिम खण्डको प्रगति एक दशमलव ९६ प्रतिशत रहेको इञ्जीनियर खत्रीले बताए । अहिले पनि लक्ष्यभन्दा ६०–७० प्रतिशत मात्रै काम भइरहेको छ । उनले भने, ‘अझै पनि कामको गति बढाउनुपर्ने भएकाले आयोजनाले चिठीमार्फत गति बढाउन भनिराखिएकोे छ ।’

विगत वर्षहरूमा निर्माणस्थल खाली गराउन धेरै बाधा रहेकामा अहिले त्यो हट्दै गइरहेको आयोजनाले जनाएको छ । बाँधका लागि ठूलो परिमाणमा माटो चाहिने हुँदा वन मन्त्रालय र भौतिक मन्त्रालयसँग सम्झौता भएको उनले बताए । बुटवाल–नारायणगढ सडक पूर्वी खण्डमा अहिलेसम्म वित्तीय प्रगति २० प्रतिशत पुगेको छ । सो खण्डमा भौतिक प्रगति ३२ प्रतिशत रहेको छ । निर्माण कम्पनीले अहिले विभिन्न काम एकसाथ अघि बढाइरहेको आयोजनाका प्रवक्ता (इञ्जीनियर) धिरज ढकालले बताए । उनले भने, ‘कतै नाली, कतै कल्भर्ट, कतै कालोपत्र, साना पुल निर्माण र ठूला पुलको जगको काम भइरहेको छ ।’

तीन महिनायता निर्माणको गति बढेको र कालोपत्र भएपछि प्रगति अझै बढ्ने आयोजनाले जनाएको छ । काम गरिरहेको भए पनि अझै पनि पर्याप्त देखिदैन । निर्माण कम्पनी आफैले लिएको लक्ष्यअनुसार पनि काम नभएकाले निर्माणको गति अझै बढाउनु पर्ने देखिएको उनले बताए ।

पछिल्लो पटक थपिएको अवधि आगामी साउनमा सकिँदैछ र सो अवधिसम्म निर्माण सक्न कठिन हुने देखिएको आयोजनाले जनाएको छ । अझै पनि महिनामा चार–पाँच प्रतिशत प्रगति निकाल्दै जाँदा समयमै नसकिए पनि केही समय थप्दा सकिने इञ्जीनियर ढकालको भनाइ थियो । वर्षासम्म काम ज्यादै कम भएकामा अहिले बढेर मासिक तीन प्रतिशत हाराहारीमा प्रगति भइरहेको छ ।

निर्माण कम्पनीसँग अहिले दुई सयभन्दा बढी उपकरण छन् भने पाँच–सातसम्म कामदार कार्यरत छन् । त्यति हुँदाहुँदै अझै आशा गरिएअनुसार निर्माण अघि बढ्न नसकेको उनले बताए । निर्माणस्थलमा अझै विद्युतको पोल सार्न बाँकी छ । निर्माणस्थल खाली गराउन गर्नुपर्ने प्रक्रियागत काम सकिएर निर्माण कम्पनीले सार्ने काम गरिरहेको छ । आयोजनाले समन्वय गरेर गर्नुपर्ने कामभन्दा अब निर्माण कम्पनी आफैले गर्नुपर्ने काम बढी बाँकी रहेको छ । इञ्जीनियर ढकालले भने, ‘सामान्य कामको सिलसिलामा आएको समस्या समन्वय भइरहेको हुन्छ । आयोजनाले निर्णय नै गर्नुपर्ने चाहिँ भएको छैन ।’

दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या थियो । गत वर्ष पनि एक–दुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षाका बेलामा त्यो नदोहोरिने आयोजनाको ठम्याइ थियो । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सो सडक विस्तार भइरहेको छ । सरकारले पूर्व–पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ ।

विभिन्न खण्डमा कतै विस्तार अघि बढिसकेको छ भने कतै विस्तारका लागि तयारी भइरहेको छ । विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो । एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई आयोजनामार्फत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पाेरेशनलाई दिइएको थियो । गत वर्ष अवधि सकिएपछि एक वर्षका लागि थपिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७