सडक पछि बनाऔंला, नागरिक भोकै हुने अवस्था नबनोस् : सीके राउत

‘हाम्रो विकासको मोडेल विवाहको भोजभतेर जस्तै भएको छ’


२६ बैशाख २०८०, मंगलवार
CK Raut
फाइल फोटो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद चन्द्रकान्त राउतले कुनै पनि नागरिक भोका–नांगा नरहुन् भन्ने विषय बजेटको प्राथमिकतामा रहनु पर्ने बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा सहभागी हुँदै उनले आर्थिक संकटको समयमा भौतिक संरचना निर्माणभन्दा नागरिकको सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन् ।

‘म आफ्नो गाउँमा जाँदा त्यहाँको एउटा गरिब किसानलाई मैले तपाईलाई सडक, बाटोघाटो विकास चाहिँदैन भनेर सोधें’, उनले के भने, ‘मेरा बच्चाका पेटमा दुई गाँस अन्न गयो भने छातीसम्मै हिलोमा हिँडेर पनि जान सक्छन्,’ उनले थपे, ‘सडक बनुन् नबनुन् त्यो पछि बनाऔंला । कतै पनि नागरिक भोको नांगो नरहुन् । स्वास्थ्य सेवाबाट बञ्चित नरहुन् । सामाजिक सुरक्षा नपाएर नागरिक रुने अवस्था नबनोस् ।’

राउतले सरकार ठूल्ठूला भवन, चौडा सडक, विमानस्थललाई विकासको मानक मान्नु गलत रहेको बताए । उनले एयरट्राफिक नै नपुग्ने विमानस्थल निर्माण गरे पनि तलब नपाएर प्रहरीहरू रुनु परेको बताए । ‘हामीले एयर ट्राफिक नै नपुग्ने विमानस्थल बनाइरहेका छौं । तर प्रहरीले तलब नपाएर रुनु परेको छ । स्वास्थ्य सेवा दिन पाइरहेका छैनौं । तर डाँडाडाँडामा भ्युटावर बनाइरहेका छौं । सडकमा प्रतिघन्टा सय वटा गाडी गुड्दैन । तर प्रत्येक सडक चार लेन र छ लेन बनाउनु पर्छ भनेर लहैलहैमा लागेका छौं,’ उनले भने ।

विकास भनेकै ठूला भवन, फराकिला सडक र विमानस्थल भनेर बुझिदिँदा अर्थतन्त्रको यो हविगत भएको उनको भनाइ छ । उनले विवाहमा दुल्हादुल्हीको मन हेर्नुपर्नेमा हामी भोजभतेरतिर लागेको उदाहरण दिए । ‘दुल्हादुल्हीको मन मिल्यो कि मिलेन हेर्नुपर्नेमा हामीले ठूलो तामझाम गर्छौ । ऋणै काढेर सुन किन्छौं । भोजभतेर गर्छौं । हाम्रो अर्थतन्त्र पनि त्यही भएको हो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७