पूर्व गृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति


२७ बैशाख २०८०, बुधबार
balkrishna khand

काठमाडौं । कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसी समेत पक्राउ परेका छन् । खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा पाँच घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो । त्यसपछि अदालत लगेको थियो । खाँणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्व गृहमन्त्री खाँणको समेत नाम लिएका थिए । आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७