अनुसन्धानले दोषी देखाएका कसैलाई प्रहरी–प्रशासनले छाड्दैन : गृहमन्त्री श्रेष्ठ


२७ बैशाख २०८०, बुधबार
narayankaji 2
फाइल फोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो अनुसन्धानमा दोषी देखिन्छन् उनीहरुलाई प्रहरी प्रशासनले नछोड्ने बताएका छन् ।

आज (बुधबार) सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यो प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्‍याउन प्रहरी प्रशासन लागिपरेको बताएका छन् । उनले भने, ‘अहिले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने र त्यसको सन्दर्भमा संगठित ढंगले ठगी धन्दा भयो त्यसको सन्दर्भमा हामीले अनुसन्धानको प्रक्रिया अघि बढाएका छौँ । अनुसन्धानले आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरु थप अनुसन्धानका लागि तानिनु भएको छ । यसलाई निष्कर्षमा पुर्याउन हामी लागिपरेका छौँ ।’

आजको प्रमुख ३ दलका नेताहरुको बैठकमा संवैधानिक परिषदसम्बन्धी विधेयक, शान्ति प्रक्रियाका बारेमा छलफल भएको र सो छलफलमा आफू सहभागी नभएको मन्त्री श्रेष्ठले बताए । यस्तै मन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताएका छन् । आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी काम गर्ने बताएका छन् ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उनले स्पष्ट पारे । गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उनले चालेको कदमको प्रशंसा गरेका थिए । नक्कली शरणार्थीसम्बन्धी यो पछिल्लो अनियमितताको अझै अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याएर तार्किक निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले अनुरोध गरेका थिए । कांग्रेसका नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, रञ्जीत कर्ण, भूपेन्द्रजङ शाही, नरेश यादव, डा. गोविन्द पोखरेललगायत आज अपराह्न गृह मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७