टोपबहादुर नभेटिएपछि सीआइबीले लग्यो संसद सचिवालयका ‘सीसीटीभी फुटेज’

रायमाझीको पत्र बुझाउने व्यक्ति पहिल्याउँदै प्रहरी


२९ बैशाख २०८०, शुक्रबार
top bahadur rayamajhi 1

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरर रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संसद् सचिवालयका सीसीटीभी फुटेज संकलन गरेको छ ।

रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज संकलन गरेर लगेको हो । ‘मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद् सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको छ,’ संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेले सुनाए ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी बेपत्ता भएका छन् । सचिवालयमा गएका व्यक्तिमार्फत टोपबहादुरसम्म पुग्न प्रहरीले यो उपाय लगाउने भएको हो । प्रहरीले खोजी गरिरहेका व्यक्तिको पत्र आइसकेपछि प्रहरी उनको खोजीमा सचिवालय आएका व्यक्तिको कनेक्सन पहिल्याउन लागेको हो ।

बिना जानकारी प्रतिनिधि सभाका १० वटा बैठकमा अनुपस्थित भए सांसद पद नै धरापमा पर्ने भएकाले रायमाझीले बिरामी रहेको पत्र पठाएका हुन् । बिरामी भनिएका रायमाझी कुन अस्पतालमा छन् भन्ने एमालेले पनि जानकारी पाएको छैन । प्रहरीलाई र पार्टी नेतृत्वलाई पनि उनले ढाँटेका थिए ।

मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद् सचिवालयमा चिठ्ठी पठाएका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ । एमालेका रायमाझी भने फरार छन् । कांग्रेसका खाँण पक्राउ परेपछि एमालेले रायमाझीलाई सचिवबाट निलम्बन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७