यूएईमा अर्का नेपालीले जिते तीन करोड बढीको चिट्ठा


३ जेष्ठ २०८०, बुधबार
Surya o0D9f4NKey

काठमाडौँ । यूएईमा कार्यरत अर्का नेपालीले फेरि तीन करोड बढीको चिट्ठा जितेका छन् । यएईको स्थानीय सञ्चार माध्यम खालिज टाइम्सका अनुसार यूएईमा कार्यरत नेपाली सूर्यलाई १० लाख यूएई दिर्हाम आजको विनिमय दर अनुसार तीन करोड ५९ लाख एक हजार ३८७ रुपैयाँको चिट्ठा परेको हो । उनलाई गएको शनिबार यूएईको महजुज चिट्ठा परेको हो । सूर्यको थर भने उल्लेख गरिएको छैन ।

चिट्ठा जितेपछि सूर्यको भनाइलाई उद्धृत गर्दै खाजिल टाइम्सले लेखेको छ, ‘म अहिले पनि मिलियन दिर्हाममा कति वटा शून्य हुन्छ भनेर गन्ने कोशिस गरिरहेको छु ।’ ३३ वर्षीय सूर्य रोजगारीका लागि सात वर्ष अघि यूएईको आबुधाबी गएका थिए । आबुधाबीमा मेशिन अपरेटरको रूपमा कार्यरत उनले मासिक दुई हजार दिर्हामभन्दा माथि कमाउँदै आएका छन् ।

शनिबार महजुजको १२८ औं ड्र हुँदा पनि उनी काम नै गरिरहेका थिए । चिट्ठा काटे पनि आफूलाई नै यो चिट्ठा पर्ला भनेर उनले कल्पना समेत गरेका थिएनन् । ‘आइतबार बिहान महजुजको खाता नहेर्दासम्म पनि मलाई यो चिट्ठा परेको छ भन्ने थाहै थिएन’ सूर्यले खालिज टाइम्सलाई भनेका छन् ।

सूर्यले आफूले चिट्ठामा जितेको रकम आफ्नो आमाको लागि घर किन्ने र बालबच्चाको पढाइमा खर्च गर्ने बताएका छन् । ‘मलाई जहिले पनि भविष्यको चिन्ता हुने गरेको थियो, तर अब यो चिट्ठा पछि मैले जस्तो मेरो जीवनको कल्पना गरेको थिएँ त्यसरी नै जिउन सक्नेछु’ सूर्यले भनेका छन्, ‘म एकदमै धन्य र खुसी छु ।’

सूर्य महजुजको ४३ औं मिलिनियर भएका छन् भने नेपालबाट रोजगारीमा गएर यूएईमा चिट्ठामार्फत करोडौं रकम जित्ने उनी तेस्रो नेपाली हुन् । यसअघि यूएईमा कार धुने काम गरिरहेलका भरतले १० मिलियन र सवारी चालकको रूपमा कार्यरत पदमले २० मिलियन यूएई दिर्हामको चिट्ठा जितेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७