नक्कली शरणार्थी प्रकरण : आज अनुसन्धान प्रतिवेदन बुझाइँदै

चार वटा कसुरमा मुद्दा चलाउनुपर्ने राय


८ जेष्ठ २०८०, सोमबार
khad top

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ । बिहान १० बजेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसक्नु पर्नेछ ।

प्रहरीले ठगी र संगठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आइतबार मात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ । संलग्नको आरोप लागेका केही भने फरार छन् । परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिने जानकारी दिएका छन् ।

अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार पार्न सरकारी वकिलको कार्यालयले आठ सदस्यीय कार्यदल बनाइसकेको छ । कार्यदल गठनसँगै प्रहरीले हिजो नै अनुसन्धानको आंशिक प्रतिवेदन पेस गरिसकेको छ । आज मूल प्रतिवेदन बुझाउन लागिएको हो ।

प्रहरीले आरोपितलाई बयान लिएर चार वटा अभियोगमा मुद्दा दायर गर्ने गरी प्रतिवेदन तयार पारेको छ । उनीहरूविरुद्ध ठगी, राज्यविरुद्धको अपराध, सरकारी दस्तखत किर्ते, सङ्गठित अपराधको अभियोगमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । आरोपितविरुद्ध मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट, सार्वजनिक पदको दुरुपयोग, भ्रष्टाचारलगायत अरू कसुर पनि आकर्षित हुने देखिएको छ । तर अहिले चार वटा कसुरमा मुद्दा चलाउने रायसहित प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

यस घटनामा एक सय छजना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ । प्रहरी स्रोतका अनुसार ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जानसक्ने बताइएको छ ।

उक्त घटनामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोहहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यत्ति फरार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७