एमालेले भन्यो–अभियुक्तले नामै लिएको अडियो छताछुल्ल हुँदा पनि छानविन गरिएन


९ जेष्ठ २०८०, मंगलवार
shankar pokharel
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तको नामै लिएको अडियो–भिडियो सार्वजनिक हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिन नगरिएको बताएका छन् । उनले सम्बन्धितलाई छानविन प्रक्रियामा समेत नल्याइकनै प्रतिवेदन बुझाउँदा सुरुदेखि नै गरिएको आशंकालाई पुष्टि गरेको बताएका छन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी कार्यमा संलग्न दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने सत्तापक्ष लागि परिरहेको आरोप एमालेले लगाउँदै आएको छ । संवेदनशील र गम्भीर अपराधका विषयमा गरिएको कमजोरीको जति आलोचना गरेपनि कम हुने उनको भनाई छ ।

‘पीडित भनिएकाहरुले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरुले नै नाम लिएका अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्वन्धित व्यक्तिलाई छानविनको प्रक्रियामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरुपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रुपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखि नै गरिएको आशंकालाई पुष्टि गरेको छ ।’ पोखरेलले मंगलबार सामाजिक सञ्जालमार्फत भने, ‘यति संवेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरे पनि कम हुन्छ ।’

पोखरेलले पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नि मञ्जुलगायत सत्ता पक्षका सांसदलाई पीडितले रकम बुझाएको अडियो सार्वजनिक भएपनि छानबिनको दायरामा नल्याइएपछि यस्तो बताएका हुन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ३३ जनालाई प्रतिवादी कायम गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरेको हो । पक्राउ पर्ने अन्यमा सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षाविज्ञ डा. इन्द्रजित राई, सन्दीप रायमाझी, सानु भण्डारी, केशव दुलाल, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा, आङटावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजाल, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी छन् ।

१४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू फरार छन् । जसमा प्रतीक थापा, निरज राई, केशव तुलाधार, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाईं, मोहनराज राई, सुनील बुढाथोकी, विनिता लिम्बु, निरन्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकीलाई समेत मुद्दा चलाउन प्रतिवेदनमा भनिएको छ । फरार र पक्राउ परेका गरी ३० जना परिचयसहितका छन् । तीन जना वतन नखुलेका प्रतिवादी रहेको प्रतिवेदनमा उल्लेख छ । जसमा गोकुल थापा, रमा थापा र बेचन झा छन् ।

परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार १ सय ११ जनाको उजुरी परेको छ । त्यस आधारमा २७ करोड ८४ लाख ५० हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ । यो गिरोहले एक अर्बभन्दा बढी रकम असुल गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७