मधेसले अधिकार पाएकै छैन, आन्दोलनका लागि तयार रहनुस् : सीके राउत


२७ जेष्ठ २०८०, शनिबार
Ck Raut
फाइल फोटो

पर्सा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसले अझै अधिकार प्राप्त गर्न नसकेको भन्दै आन्दोलनका लागि तयार रहन आग्रह गरेका छन् ।

आज (शनिबार) वीरगञ्जमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए । विगतका मधेस आन्दोलनमा मधेसी नेताहरूले गद्धारी गरेका कारण माग पूरा हुन नसकेको भन्दै फेरि आन्दोलनको तयारी भइरहेको राउतले बताए ।

राउतले भने, ‘मधेसी नेताहरूले गद्धारी गरेका कारण मधेस आन्दोलनका कुनै पनि माग पूरा भएको छैन । त्यसकारण अब जनमत पार्टीले मधेस आन्दोलनलाई अगाडि बढाउने तयारी गरिरहेको छ । अबको आन्दोलन सरकार, सदन र सडक तीनै तहबाट हुन्छ ।’ २२ जिल्लको एक मधेस प्रदेश, नागरिकता, मधेसीको सम्मान र पहिचान मधेस आन्दोलनको माग भए पनि तीमध्ये कुनै पनि माग पूरा नभएकाले फेरि मधेस आन्दोलनको तयारीमा जनमत पार्टी लागिसकेको राउतको भनाइ छ ।

उनले जनमतले गर्ने आन्दोलनले आँधी तुफानको रुप लिने र त्यसले राज्यका शासकबाट मधेसका अधिकार खोसेर लिने दाबी पनि गरे । उनले अब हुने आन्दोलनको तयारीमा जुट्न मधेसी जनतालाई आह्वान गरे । ‘मधेसको दूरावस्था देखेर सह्य नभएपछि म राजनीतिमा आएको हुँ । राजनीतिक दल खोलेको हुँ । त्यसका कारण म अरु नेता जस्तो सत्ता र पदको लोभी होइन । एउटा मन्त्री पाउँदा पनि सरकारमा म आफू गइनँ । पार्टीकै अरु नेतालाई पठाएँ,’ उनले भने ।

जनमत पार्टीमा हरेक वर्ग र तप्काको व्याक्तिलाई सम्मान गर्ने गरिएको भन्दै राउतले आफ्नो पार्टीमा सत्ता र पदको कुनै महत्व नभएको जिकिर गरे । शनिबारको बृहत पार्टी प्रवेश कार्यक्रम र कार्यक्रममा जनसहभागीताले आन्दोलनको बिगुल फुकेको पनि राउतले बताए । जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डा. राउतको प्रमुख आतिथ्यतामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एंव प्रदेशका पूर्व कृषि राज्यमन्त्री बसन्त कुशवाहा, वरिष्ठ नेता डा.र शरदसिंहलगायत नेताहरुले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७