सत्ता गठबन्धनका शक्ति एकताबद्ध हुनुको विकल्प छैन : अध्यक्ष नेपाल


२९ जेष्ठ २०८०, सोमबार
madhav 1

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई आज (सोमबार) सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले मतान्तर रहे पनि सत्ता गठबन्धनका दलहरू एकजुट हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरूबीचका धाराहरूमा केही मतान्तर स्वाभाविक भएको पनि बताएका छन् । उनले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताए ।

‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरूका बीचका धाराहरूमा केही–केही मतान्तर पनि हुनसक्ला । तर एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ । सत्ता बाहिरको गठबन्धनमा कस्ता–कस्ता खालका शक्तिहरू छन्, संविधानमाथि गम्भीर आघात पु¥याउने शक्तिहरू छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरू छन्,’ उनले भने ।

अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील भन्दै उनले यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यकता नभएको बताए । ‘कमी कमजोरी हुन्छन्, आलोचना गर्ने पनि हो । कमजोरीप्रति आँखा चिम्लिने होइन । त्यसमा बग्ने, समर्थन गर्ने पनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ । अहिलेका सत्ताधारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन‚’ उनले भने । आफ्नो महत्व र भूमिकालाई अस्वीकार गर्नेहरूको चुनौतीको सामना गर्ने पनि उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७