बैंक लुटे जसरी चार जना यारहरुले बजेट लुटे : अध्यक्ष राउत


१ असार २०८०, शुक्रबार
CK Raut
फाइल फोटो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके साउत) ले आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याइएको नभई लुटिएको आरोप लगाएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभई लुटिएको बताएका हुन् ।

उनले बैंक लुटे जसरी चार यारहरूले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको आरोप लगाए । सरकारले लुट्ने क्रम जारी रहेको उनको भनाइ छ । ‘बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्ने कुरा स्पष्ट देखिँदैन । यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन’, उनले थपे, ‘बजेटलाई चार यारहरूले लुटेर गएका जस्ता देखिन्छन् ।

बाटोमा लैजाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ । चार यारहरू मिलेर अध्याँरोमा गएर बाँडफाँट गरेको जस्तो स्पष्ट रूपमा देखिन्छ । वैशाखमा बारामा मत पेटिका लुटे, जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ । लुट्ने प्रवृत्ति क्रमिक रूपमा जारी नै छ ।’

अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताएका छन् । उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद् र सांसदहरूको निरीहता भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७