श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि …


२१ असार २०८०, बिहीबार
nagarikta 1

बैतडी । दोहोरो नागरिकताको आरोपमा प्रहरीले श्रीमान–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाकी किस्मती चन्द र गम्भीर चन्द रहेका छन् । किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजुरीको आरोपमा गम्भीरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बैतडीबाट लिएको पहिलो नागरिकतामा नाम किस्मतीदेवी चन्द, ना.प्र.न.७३३०१३/४३४, जारी मिति २०६३-१०-८ बैतडी, जन्ममिति २०४६-५-२५ र पतिको नाम वीरेन्द्र चन्द उल्लेख गरिएको छ । यसैगरी कञ्चपुरबाट लिएको दोस्रो नागरिकतामा नाम कलावती चन्द, जन्म मिति २०३९-११-१०, ना.प्र.न. ७५१००१/१३१२६, जारी मिति २०६७-४-२० कञ्चनपुर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भीमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरिएको छ ।

दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबर्जस्ती पुरानै श्रीमतीको विवरण राखेर नागरिकता बनाएको खुल्न आएको छ । गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमतीका रूपमा किस्मतीलाई भित्र्याएको र पहिलाकै श्रीमती कलावतीको नामबाटै किस्मतीको कञ्चनपुरबाट नयाँ नागरिकता बनाएका हुन् ।

ती कलावतीलाई दैनिक कुटपिट गर्ने गरेको र चार छोरा आफैँसँग राखेर घर निकाला गरेका हुन् । अहिले दोहोरो नागरिकता लिने र लिन बाध्य पार्ने दुवै जनामाथि अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनले भने, ‘दुवै जनालाई पक्राउ गर्न भनेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खबर आएको र त्यसपछि हामीले उनीहरूको खोजतलास गरेका थियौँ । अहिले उनीहरू कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका छन् ।’

बैतडीको भन्दा कञ्चनपुरको नागरिकतामा सात वर्ष उमेर बढाएर बनाएको पाइएको र निजको नाम र श्रीमानको नाम पनि फरक रहेकाले प्रहरीले मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७