‘प्रधानमन्त्री प्रचण्ड सदैव सङ्घीय संसद्प्रति जवाफदेही हुनुहुन्छ’


२१ असार २०८०, बिहीबार
Prachanda 1 1 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको दाबी गर्दै यस विषयमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पुस्तक विमोचनको प्रसङ्गलाई लिएर प्रमुख प्रतिपक्षी दलहरुले नियोजित रुपमा संसद् अवरोध गरेको सचिवालयले आरोप लगाएको छ । संसद् अवरोध गर्दा मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक संसद्बाट पारित नभइ निष्क्रिय भएको तथा त्यसबाट मिटरब्याज पीडितको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसप्रति हामी गहिरो दुःख व्यक्त गर्दै मिटरब्याज पीडितको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’ जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रधानमन्त्री प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको थियो । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि २०६७÷६८ सालतिर सिंहको दिल्लीस्थित घरमा बसेर नै उनको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको विज्ञप्तिमा भनिएको छ ।

सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उनीहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिक समेत हुँदै गएको बताइएको छ । नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउनु हुने सिंहले अनौपचारिक भेटघाटमा प्रचण्डसँग ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गर्दै आएको सन्दर्भ पुस्तक लोकार्पणका क्रममा प्रधानमन्त्रीले प्रसङ्गवश उल्लेख गरेको सचिवालयको भनाइ छ ।

सिंहको दिल्लीस्थित आफ्नै घरमा पटक–पटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषय समेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गरेको प्रेस सल्लाहकार आचार्यको भनाइ छ । ‘प्रधानमन्त्री प्रचण्डले सिंहसँगको सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बङ्ग््याएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दःुखद् छ’, उनले भने ।

सम्मानित संसद्बाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव सङ्घीय संसद्प्रति जवाफदेही रहेको उल्लेख गर्दै उनले संसद्मा प्रष्टिकरणको मौका समेत नदिइ उनको भनाइको आशयविपरीत एकपक्षीय ढङ्गले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको स्पष्ट पारे । दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेका हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आशलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको स्पष्ट भएको उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड गत पुस १० गते प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) समेतको प्रस्तावमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले प्रतिनिधिसभामा झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त गरेका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘सङ्कुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको विरोध र सिङ्गो संसद्को नै अपमान हुन जाने तथ्यसमेत हामीले हेक्का राख्नु पर्दछ ।’ प्रेस सल्लाहकार आचार्यले यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न समेत सबैलाई हार्दिक अपिल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७