सिङ्गापुरमा २० वर्षपछि महिलालाई मृत्युदण्ड


१० श्रावण २०८०, बुधबार
Singapore Woman executed after 20 years1690293304

काठमाडौं । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ ।

सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)ले जनाएको छ । सिङ्गापुरले २० वर्षपछि पहिलो पटक महिलालाई झुण्ड्याएर मृत्युदण्ड दिन लागेको हो ।

टिजेसीका अनुसार पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका ती पुरुषलाई बुधबार चङ्गी जेलमा र ३० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी जामानीलाई शुक्रबार फाँसी दिइनेछ ।
सन् २०१८ मा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । दण्ड पाउने दुवै सिङ्गापुरका नागरिक हुन् । उनीहरूका परिवारले उनीहरूको मृत्युदण्डको मिति निर्धारण गरिएको सूचना प्रदान गरिएको छ ।

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न आग्रह गरेको छ । टिजेसीले पनि मृत्युदण्ड रोक्न आग्रह गर्दै आएको छ । सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ ।

विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ । कोभिड–१९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनः कार्यान्वयन गरेपछि कम्तीमा १३ जनालाई फाँसी भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७