घाँस काट्ने क्रममा पहिरो खस्दा दुईको मृत्यु, एक घाइते


१४ श्रावण २०८०, आईतवार
pahiro sanket
फाइल फोटो

रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।

पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भटराईले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्य भएको हो ।

त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएकी छन् । खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भटराईले बताए । घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उनको भनाइ छ । तीनै जना करिव पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७