भरतपुर महानगर पूर्व जनप्रतिनिधि मञ्च गठन


१६ श्रावण २०८०, मंगलवार
bharatpur

भरतपुर । भरतपुर महानगरपालिका पूर्वजनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा चन्द्रमित्र पण्डित, सचिवमा पदमपाणि सुवेदी, कोषाध्यक्षमा विजय भुजेल, सहसचिवमा पवित्रा केसी र सदस्यमा नरिनारायण पौडेल, नरेन्द्रकुमार कन्दङ्वा, दामोदर न्यौपाने, कान्छा मल्ल, चक्र रुचाल र धनकुमारी विक रहेका छन् ।

विसं २०७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले महानगरपालिकाको विकास निर्माणमा सहयोग पुर्याउने उद्देश्यले मञ्च गठन गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनले अहिलेका जनप्रतिनिधिलाई आफ्नो कार्यकालको अनुभव बाँड्नका लागि पनि मञ्चले सहयोग पुर्‍याउने बताए ।

‘मञ्च गठनपछि महानगरपालिकासँग छुटेको सम्बन्ध फेरि जोडिनेछ’, सचिव पदमपाणि सुवेदीले भने, ‘हाम्रो सक्रियता फेरि बढ्ने छ ।’ उनले यो समितिलाई निरन्तरता दिइने भन्दै वर्तमान जनप्रतिनिधि पनि निवर्तमान भएपछि मञ्चमा आबद्ध भएर काम गर्ने बताए । भरतपुरका सबै वडाको समानुपातिक विकासका लागि महानगरपालिका र वर्तमान जनप्रतिनिधिसँग छलफल समेत गरिने सुवेदीले बताए । पूर्व जनप्रतिनिधिको मञ्च सबै वैचारिक एकताको मञ्च समेत भएको उनको भनाइ छ ।

महानगरपालिका भएपछिको पहिलो कार्यकाल सफल रहेको मञ्चका सहसंयोजक चन्द्रमित्र पण्डितले बताए । उनले आफूहरूको कार्यकालमा महानगरका एक सय ३४ कार्यविधि बनाएको जनाउँदै त्यही कार्यविधिअनुसार अहिले वडा सञ्चालन भइरहेको बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाका निवर्तमान उपप्रमुख पार्वतीसिंह ठकुरीको समेत उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७