सुन तस्करी प्रकरण : राजस्वले सीआईबीलाई दियो अनुसन्धानको जिम्मेवारी


२१ श्रावण २०८०, आईतवार
po

काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको थप अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मामा आएको छ । राजस्व अनुसन्धान विभागले यही ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्वीन्टल सुन बरामद गरेको थियो ।

सुरुमा यो प्रकरणको आफैले अनुसन्धान गरिरहेको राजस्वले अब थप अनुसन्धानका लागि सीआईबीलाई फाइल बुझाएको हो । सुन तस्करी प्रकरण अन्तरदेशीय संगठित अपराध देखिएकाले अनुसन्धान लागि प्रहरीलाई फाइल बुझाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

‘हालसम्म खुलेका प्रमाणले संगठितरुपमा गरिएको अन्तरदेशीय अपराध देखिन्छ । त्यही भएर बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिमार्फत गर्नुपर्ने भएर प्रहरीलाई जिम्मा दिइएको हो’ महानिर्देशक ढुंगानाले भने । नेपालको रेडी ट्रेड कम्पनीको नाममा हङकङबाट कार्गो गरी ल्याइएको ब्रेकसुभित्र सुन भेटिएको थियो । यो प्रकरणमा विभागले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक, नेपाली र भारतीय नागरिक छन् । तस्करहरूले त्यसअघि पनि ठूलो परिमाणमा सुन भित्र्याएको विभागले गरेको पछिल्लो अनुसन्धानले स्पष्ट पारेको छ । विभागले टोखामा सुन गाल्ने कारखाना फेला पारेको थियो भने त्यहाँ खोक्रा ब्रेकसु समेत भेटेको थियो ।

यो अनुसन्धान अब सीआईबीले गर्ने भएपछि संगठित अपराधमा पनि अनुसन्धान हुने भएको हो । यही प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ । विभागका मात्र अनुसन्धान फितलो हुनसक्ने भन्दै कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी र राजस्वका उच्च अधिकारीहरुसँग बैठक गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिएका थिए । प्रधानमन्त्रीले गत साता निर्देशन दिएपछि विभागले आइतबार सम्पूर्ण फाइलहरु बुझाएको हो ।

सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने निष्कर्षसहित सरकारले संगठित अपराध, अन्तरदेशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको हो । सीआईबीमा वित्तीय र संगठित अपराध हेर्ने छुट्टै युनिट छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७