दीपेन्द्र सम्मिलित टाइगर्सले जित्यो ग्लोबल टी–२० क्यानडाको उपाधि, सन्दीपको टोली पराजित


२२ श्रावण २०८०, सोमबार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टी–२० क्यानडा २०२३ को उपाधि जितेको छ ।

गए राति (आइतबार) को फाइनल खेलमा टाइगर्सले नेपाली टोलीकै लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सर्रेले दिएको १३१ रनको लक्ष्य टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

आन्द्रे रसेल ६ बलमा १ चौका र २ छक्कासहित २० रनमा नटआउट रहे । दीपेन्द्र १७ बलमा १ चौकासहित १६ रन बनाउँदा रिटायर्ट हर्ट हुँदै क्रिज छाडेका थिए । उनको स्थानमा आन्द्रे रसेल क्रिजमा आएका थिए । शेर्फान रदरफोर्ड ३८ रनमा नटआउट रहे ।

सन्दीपले ३ ओभरमा २० रन खर्चिए पनि विकेटविहीन रहे । त्यसअघि टाइगर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३० रनको योगफलत तयार पारेको थियो ।

ओपनर जतिन्दर सिंह ५६ रनमा नटआउट रहे । आयन खानले २६, मोहम्मद हरिसले २३ रन थपे । लिटोन दास १२ रनमा आउट भए । टाइगर्सका लागि आयन खानले २ विकेट लिए । कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले एकरएक विकेट आफ्नो नाममा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७