युवाको भूमिका : प्रश्न गर्ने की उत्तर दिने ?


२७ श्रावण २०८०, शनिबार
Sajeena Thapamagar

हाम्रो संविधान भन्छ, ‘१६ देखि ४० वर्षसम्म उमेर समूहको व्यक्ति युवा हुन् ।’ संयुक्त राष्ट्र संघको परिभाषा अनुसार, १५–२४ वर्ष बीचका व्यक्ति युवा हुन् । युवा बारेमा भगत सिंह भन्छन्, ‘ऊ निश्चिन्त छ, असावधान छ । लगन लाग्यो भने रातभर जागै रहनु उसको बायाँ हातको खेल हो, जेठको दोपहर चैतको चाँदनी जस्तै हो, साउन–भदौको झरी मंगलोत्सवको पुष्पवृष्टि हो, स्मशानको निस्तब्धता उद्यानका पक्षीको कलरव हो । उसले इच्छा गर्यो भने समाज र जातिलाई उद्वोधन गरीदिन्छ, देशमा लाली छाइदिन्छ, राष्ट्रको मुहार उज्वल पारिदिन्छ, ठूल्ठूला साम्राज्य ढालिदिन्छ ।’ भगत सिंहले भनेजस्तै युवा अजेय र अजस्र शक्तिको स्रोत हो ।

युवा उनीहरु हुन्, जसले कुनै पनि काम उर्जा, उत्साह र उमंगको साथ गर्छन् । जिम्मेवारी समपर्ण र इमानको साथ पुरा गर्छन् । भगत सिंह भन्छन्, ‘रगतको भेटी चाहिएमा युवासिवाय कसले दिन्छ ? यदि तिमि बलिदान चहान्छौ भने तिमीले युवाहरु तर्फ नै हेर्नुपर्दछ । प्रत्येका जातिका भाग्यविधाता युवाहरु नै त हुन्छन् ।’ आज उनै युवाहरुले दिवस हो ।

यस वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ : नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ नाराको साथ युवा दिवस साताव्यापी मनाइन्दैँछ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो यो लगत्तै २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएको छ । नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । युवा परिषद्को अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय २०६६ सालमा गठन गरिएको हो । युवाहरुको क्षेत्रमा काम गर्नका लागि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् गठन भएको छ । नेपालमा युवा विकासका लागि वि.सं. २०६६ सालमा पहिलो पटक र वि.सं. २०७२ मा परिमार्जित राष्ट्रिय युवा नीति २०७२ जारी गरियो । त्यसलाई प्रभावकारी रुपमा लागू गर्ने उद्देश्यले वि.सं. २०७२ सालमा युथ भिजन २०२५ तथा १० वर्षे रणनीतिक योजना जारी गरियो । यो दस्तावेज मिति २०७२/०६/१९ गते नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत भएको थियो । यसरी नेपालमा पहिलो पटक युवा विकासका लागि सरकारीस्तरबाट तयार भएको ठोस कार्ययोजनासहितको दस्तावेजको रुपमा युथ भिजन रहेको छ ।

यसको निर्माण गर्दा सरोकारवालाहरुसँग व्यापक छलफल, अन्तरक्रिया भएको र अत्यन्त सहभागितामूलक ढङ्गले निर्माण भएको थियो । यसरी राष्ट्रिय युवा नीति-२०७२ र युथ भिजन २०२५ तथा १० वर्षे रणनीतिक योजनामा परिलक्षित गरिएका युवालक्षित योजना र कार्यक्रमहरुलाई समस्त नेपाली युवाको विकास र परिचालनका लागि केन्द्रीय सरकारी निकायको रुपमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ बमोजिम नेपाल सरकारले राष्ट्रिय युवा परिषद् स्थापना गरेको हो ।

यस परिषदले नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको संघीय तह¸ प्रदेश तह र स्थानीय तहमा कार्यान्वयन तथा सोको लागि सहजीकरण गर्नुका साथै अन्य सरकारी तथा गैरसरकारी निकायहरुबाट सञ्चालित युवालक्षित कार्यक्रमहरुको समन्वय सहकार्य र सहजीरकण गर्ने काम समेत गर्दछ ।

हाल यसको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहेको छ । यसका शाखाहरु सबै जिल्लाहरुमा जिल्ला युवा समितिका कार्यालयहरु रहेका छन् । केही वर्षदेखि नेपाल संघीय ढाँचामा गइसकेपछि यसका संगठनात्मक ढाँचा र स्वरुपहरु परिवर्तन हुने क्रममा रहेका छन् ।

आगामी दिनमा केन्द्रमा राष्ट्रिय युवा परिषद् प्रदेशस्तरमा प्रदेश युवा परिषद्, जिल्लामा जिल्ला युवा समन्वय इकाइ तथा सबै स्थानीय तहमा स्थानीय युवा परिषदको रुपमा विकास गरिने र प्रत्येक वडा तहमा युवा क्लबहरुको गठन गरी युवाका गतिविधिहरु सञ्चालन गर्ने यसका अङ्ग तथा इकाइहरुलाई स्थानीय तहको वडा तथा गाउँ तहसम्म विस्तार गरिनेछ ।

युवा भूमिकाको प्रश्न
नेपालमा युवाहरुको जनसंख्या करिब डेढ करोड छ । तर नीति निर्माण र नेतृत्व तहमा उनीहरुको सहभागिता कमजोर मात्रै होइन असाध्यै निराशाजनक छ । युवाहरुको भूमिका प्रश्न गर्ने की जवाफ दिने ? हामी पनि प्रष्ट छैनौं । अरु देशको अभ्यास र अवस्थाहरुलाई हेर्दा मुलुक निर्माणमा युवाहरुको भूमिका केन्द्रमा छ । उनीहरुको सहभागिता केन्द्रमा छ अर्थात् उनीहरु मैदानमा छन् ।

राज्य निर्माणको अपनत्व र स्वमित्व उनीहरुसँग छ । तर हामी कहाँ युवाको भूमिका दर्शक दिर्घामा उभिएर ताली वा गाली गर्ने मात्रै छ । तर यहाँनिर एउटा गौरव र स्मरण योग्य छ तथ्य छ, आन्दोलन र अभियानहरुमा युवाहरुको भूमिका केन्द्रमा छ । तर जब–जब परिवर्तनको आन्दोलन र अभियान सकिन्छ, फेरी निर्माण र नेतृत्व प्रक्रियामा भने युवाहरु किनारामा पुग्नु पर्ने अवस्था छ ।

हामी कहाँ एउटा बहस छ, ‘किन बनेन देश ?’ यो प्रश्न माथि गर्नुपर्ने प्रतिप्रश्न हो, ‘नेपालका युवाहरु कहाँ छन् ? देशभित्र भएका युवाहरुको भूमिका कस्तो छ ?’ यस कारण देश निर्माणमा युवाहरुको सहभागिताको सहजीकरण पहिलो आवश्यकता हो । सबै प्रकारको नीति र नेतृत्वको लागि युवाहरुको हस्तक्षेप अर्को जरुरी पाटो हो ।

  • यसको लागि योग्यता निर्माण गर्ने र कार्यको पहिचान गराउनका निम्ति हाम्रो नीति निर्माण तहमा युवाहरुको सहभागिता अनिवार्य छ । युवाहरुको बीचमा छलफल बहस चलाउन आवश्यक छ । युवाहरुले ध्यान दिनु पर्ने कुराहरुमध्ये केहिको चर्चा गरौं ।
  • युवामैत्री शासन प्रबद्र्धन ।
  • शासन प्रणालीमा युवाहरुको सहभागिता बढाउने ।
  • ७५३ वटै तहमा युवामैत्री स्थानीय शासन अभ्यास ।
  • राजनीतिक सहभागिताका लागि युवा पुस्तालाई अग्रजको कदर गर्दै युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।
  • युवामैत्री लगानी ।
  • एकीकृत युवा नीतिको निर्माण
  • अब १६ औं योजना बन्दैछ, यसमा युवाका विषयलाई प्राथमिकतामा राखिनु पर्छ ।
  • युवाको सुन्दर भबिष्यका लागि योजना बनाउन मनोबिमर्श गर्नुपर्छ । विदेशबाट फर्केका युवाको सीप र ज्ञान को अपनत्व गरेर सहयोग गर्नुपर्छ ।
  • युवाहरुको क्षमता अभिवृद्धि गराउने कार्य गर्ने ।

सरकारलाई प्रश्न :

  • युवाहरुको नीति एउटा मात्रै बिभागबाट गर्न सकिदैन
  • युवाहरुको निम्ति लगानी कति छ ?
  • युवाहरुलाइ मुलुकभित्र नै अल्झाउन के काम गर्नु भएको छ ?
  • युवामैत्री समाज बनाउन नसक्नु नै राज्य बिकासमा पछाडि पर्नु हो भन्ने कुरा बुझ्नु भएको छ
  • तपाईको मुलुकका युवा कता–कता छन् ? रेकर्ड छ ?
  • हामी आम युवा मुलुकको समृद्धिका लागि तत्पर छौं, तपाई किन डराउनु भा’को ?
  • हामी युवा राज्य निर्माणमा लाग्न तयार छौं, के यसको लागि भूमिका दिन राज्य तयार छ ?

हामी २४ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदैछौ । नेपालमा युवाहरुको जनसंख्या करिब डेढ करोड छ । राष्ट्रिय युवा परिषदले ‘दिगो बिकास लक्ष्य प्राप्तिमा युवाको साथ, नव प्रबर्तन र उद्यमशिलतामा आधारित सीप बिकास’ भन्ने नाराका साथ मनाउँदैछौं । हरेक युवाहरुको समृद्धिका लागि हामी एकवद्ध हुन आवश्यक छ । नीतिगत बहसदेखि तल्लो तहसम्म युवामैत्री समाज निर्माणका लागि हामी तयार होऔं । हामी युवाहरुको सहभागिता बढाउनका लागि नेतृत्व स्थापित गराउनका लागि युवाहरु सचेतनाका लागि आ-आफ्नो ठाउँबाट अग्रसर होऔं ।

(थापा मगर राष्ट्रिय युवा परिषद्को सदस्य हुन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७