सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च, नारायणीको जल सतह सतर्कता तहमाथि

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, सतर्क रहन प्रशासनको आग्रह


२९ श्रावण २०८०, सोमबार
Saptakoshi Sunsari scaled
फाइल फोटो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । आज (सोमबार) बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जानकारी दिएको छ ।

पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह समेत गरेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) अवस्थित रहेको छ । यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ । हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।
नारायणीको जल सतह सतर्कता तहमाथि
यता नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ ।

आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ । देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ ।

नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ । नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७