सुन तस्करी प्रकरण : पक्राउ परेका ३२ जनालाई हिरासतमा राख्न चार दिन म्याद थप

६ जनालाई मुद्दा नचलाउन सीआईबीको राय


२७ भाद्र २०८०, बुधबार
gold taskar

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिन थप भएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि अदालत पुर्‍याएकोमा बुधबार चार दिन थप भएको हो ।

ब्युरोले बुधबार सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी पनि छ । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । अबको तीन दिनभित्र सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्नेछ ।
६ जनालाई मुद्दा नचलाउन सीआईबीको राय
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले झण्डै ६१ किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ । भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ ।

रुक्मिनालाई बिरामी भएका कारण यसअघि नै छाडिएको थियो । अरु भने अहिले पनि हिरासतमै छन् । तर उनीहरुविरुद्ध भने मुद्दा नचलाउन राय दिएको हो । हङकङबाट साउन २ गते भित्रिएको उक्त सुन प्रकरणमा ३२ जना पक्राउ गरिएको सीआईबीले जनाएको छ। अरु १८ जना फरार छन् । पक्राउ पर्नेमा ९ जना विदेशी छन् ।

फरार रहनेमा भने १४ जना विदेशी रहेको सीआईबीले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेर आगामी आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७