सुनौलो कछुवा ३५ लाखमा बेच्ने प्रयास, ६ जना पक्राउ


३१ भाद्र २०८०, आईतवार
sunaulo kachhuwa

काठमाडौं । काठमाडौंबाट दुर्लभ कछुवासहित ६ जना पक्राउ परेका छन् । राजधानीको टोखा नगरपालिका–५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । महाराजगञ्जका डीएसपी अमरबहादुर थापा क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ३५ लाख रुपैयाँमा कारोबार गर्न लागेको अवस्थामा ६ जनालाई पक्राउ गरेको काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

kachhuwa

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका–८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका–४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका–२ पातलेगाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका–३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएका ३८ वर्षीय राजकुमार राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार टोखा–५ मा अवैधरूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त कछुवासहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७