रुपन्देहीमा मजदुरबीच झडप : एकको मृत्यु, तीन जना गम्भीर, १३ जना पक्राउ


२ आश्विन २०८०, मंगलवार
jhadap
सांकेतिक तस्विर

रुपन्देही । रुपन्देहीमा गए राति मजुदरहरुबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १३ जनलाई पक्राउ गरेको छ । उनीहरुमाथि सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिलोत्तमा नगरपालिका–९ स्थित एक रेस्टुरेन्टमा सोमबार साँझ मादक पदार्थसहितको भोज खाएपछि मजदुरहरुले आपसमा झगडा गर्दा घटना भएको प्रहरीले जनाएको छ । झडपको क्रममा धारिलो हतियार प्रहार हुँदा मकवानपुरको हेटौँडा घर भई रुपन्देहीको मंगलापुरमा डेरा गरी बस्दै आएका सुरेश स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरत विकले जानकारी दिए ।

‘मदिरा सेवनपछि धारिलो हतियारसहित उनीहरुले आपसमा झडप गर्दा एक जनाको मृत्यु भएको छ,’ एसपी विकले भने, ‘घटनामा धारिलो हातियार प्रहारबाट अन्य तीनजना घाइते छन् । घटनामा संलग्न भएको आशंकामा १३ जना पक्राउ परेका छन् ।’

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका ९ केरवानीमा विभिन्न पेटी ठेकेदारहरुसँग मजदुरी गर्दै आएका उनीहरु विश्वकर्मा पूजापछि साँझ मदिरासहितको भोजमा बसेका थिए । त्यसक्रममा उनीहरु आपसी झडपमा उत्रिँदा घटना भएको हो ।

झडपमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका स्याङ्तानलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा परी काठमाडौं महानगरपालिका–१ का विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते छन् । घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।

‘घटनास्थलबाट एउटा चक्कु बरामद भएको छ,’ डीएसपी थापाले भने, ‘मृतक र घाइते तीनै जनालाई सोही चक्कु प्रहार भएको आशंका गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’ मृतक स्याङतानको शव अहिले भैरहवा मेडिकल कलेजमै राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७