सर्लाहीमा जलाउन लागिएको युवतीको शव प्रहरीले उठायो, पतिसहित तीन जना पक्राउ


११ आश्विन २०८०, बिहीबार
death woman
सांकेतिक तस्वीर

सर्लाही । प्रहरीले सर्लाहीको रामनगरस्थित मनुषमारा घाटमा जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव नियन्त्रणमा लिएको छ । मनुषमारा घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन सदस्यलाई पनि पक्राउ गरेको छ ।
रामनगर–१ खैर्वा निवासी सुनिल साहकी पत्नी २१ वर्षीया मनिषा साहको शव बुधबार दिउँसो चितामा चढाएर जलाउन ठिक्क पारेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

घाटबाटै प्रहरीले युवतीका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरेको छ । घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए । मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डीएसपी पञ्जियारले बताए ।

मनिषाको मृत्यु शंकास्पद देखिएपछि शव बरामद गरिएको बताउँदै डीएसपी पञ्जियारले भने, ‘बुधबार दिउँसो करिब ३ बजे प्रहरी टोली खैर्बा गाउँ नजिकैको मनुषामारा घाटमा पुग्दा शव जलाउन चिता तयार हुँदै थियो । चिताको छेउमै राखिएको शव हामीले उठाएर पोष्टमार्टमका लागि मलंगवा ल्याएका छौँ ।’

घाटबाट उठाएको शव प्रहरीले पोष्टमार्टमका लागि बुधबार साँझ प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा लगेर राखेको छ । सर्लाहीकै कविलासी गाउँपालिका– ३ घर भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो । उनका माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आशंका गरेका छन् । डीएसपी पञ्जियारका अनुसार परिवारका सदस्यले भने छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् ।

‘आत्महत्या गरेकै भए पनि पोष्टमार्टमसहित कानुनी प्रक्रिया पूरा गरेर मात्रै शव जलाउनु पर्ने थियो,’ डीएसपी पञ्जियारले भने, ‘छिमेकीले पनि उनको मृत्युमा शंका व्यक्त गरेका छन् । छिमेकीले नै खबर गरेपछि प्रहरी घाटमा पुगेको हो । हामी थप अनुसन्धान गर्दैछौं ।’ बुधबार साँझ युवतीका दाजु पनि प्रहरीको सम्पर्कमा पुगेका छन् । ‘उहाँहरुसँग पनि हामी थप बुझ्छौँ । पोष्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्ने छ,’ डीएसपी पञ्जियारले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७