राष्ट्रियताको मुद्दामा सबै एकढिक्का हुन जरुरी : अध्यक्ष ओली


१६ आश्विन २०८०, मंगलवार
kp oli
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई मजबुत तुल्याउन राष्ट्रिय मुद्दामा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी बोल्दै उनले देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘म सबै राजनीतिक दलका माननीय सदस्य ज्यू हरुलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा एक हौँ’, एमाले अध्यक्ष ओलीले भने, ‘राष्ट्रका हितहरुलाई सर्वोपरी राख्दै विकासका प्रयासमा एकजुट होऔँ, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिका अखण्डतालाई कमजोर पार्ने कार्य बन्द गर्न र सामाजिक सद्भाव कायम राख्न सबै गम्भीर हुनुपर्छ ।’

मित्र राष्ट्र मुलुकहरुसँगको सम्बन्धलाई सुमधुर तुल्याई, कुटनीतिक सम्बन्धलाई बलियो र थप प्रगाढ तुल्याउन लागिपर्ने उल्लेख गर्दै उनले परराष्ट्र नीतिमा एक दृष्टिकोण बनाई नेपालको स्वाभिमान र गरिमा बढाउन सबै लाग्नुपर्ने खाँचो औंल्याए ।
एमाले अध्यक्ष ओलीले आम जनतामा राजनीतिक दल, प्रणाली, संविधानप्रतिको विश्वास अभिवृद्धि गर्दै अहिलेसम्मका राजनीतिक उपलब्धी संस्थागत गर्न र विकास निर्माणलाई प्रभावकारी बनाउन आग्रह गरे । विकास निर्माणका कामले गति लिन नसकेको, समयमै भुक्तानी नहुँदा निर्माण कम्पनीलाई ऋण तिर्न कठिनाई भएको प्रसङ्ग उल्लेख गर्दै उनले सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकास र समृद्धिको यात्रामा सक्रियतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई रिहा गरिएको, कैदीबन्दीलाई आममाफी दिइएको र सुनकाण्डका आरोपीलाई छाडिएको भन्दै आपत्ति प्रकट गरे । उनले सुशासन सरकारको नियमित काम भएकाले यसलाई निरन्तरता दिएर शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने धारणा राखे । सुशासनको अभियानमा प्रतिपक्षले विरोध गरेको भनी आरोप लाग्ने गरेको उनले उल्लेख गरे ।

एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सभामा देखिएका गतिविधि संविधानको भावना अनुरुप नभएको जिकिर गरे । कानुनी राज्य र विधिको शासन स्थापित गर्न सबै गम्भीर हुनुपर्नेमा जोड दिए । उनले प्रतिपक्षले उठाएका कतिपय विषयलाई मजाकको रुपमा लिने गरिएको गुनासो गर्दै संसदलाई प्रभावकारी बनाउन आग्रह गरे ।

बजारमा महंगी बढेको, किसानले मल बिऊ नपाएकोलगायत जनसरोकारका विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । संसद बैठक लामो समय सञ्चालन नभएकोमा पनि अध्यक्ष ओलीले टिप्पणी उनले संसदलाई विजनेस दिएर प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले न्यायलयलाई स्वतन्त्र, मर्यादित र विश्वासयोग्य बनाइनुपर्ने खाँचो औंल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७