रिजवान र सफिकको शतकमा श्रीलंकाविरुद्ध पाकिस्तानको शानदार जित


२४ आश्विन २०८०, बुधबार
Pakistan Cricket 1696957113

काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत पाकिस्तानले श्रीलंकालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो ।

३४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका लागि अब्दुल्लाह शफिकले ११३, मोहम्मद रिजवानले अविजित एक सय ३१, इफ्तीखार अहमदले अविजित २२, शाउद सकलिले ३१ तथा इमाम उल हकले १२ रन बनाए ।

बलिङतर्फ श्रीलंकाका लागि दिलशन मदुसन्काले दुई विकेट लिए । यसअघि श्रीलंकाका लागि ब्याटिङ गर्ने क्रममा कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले । मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए । उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए । उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे । उनले यस क्रममा सात चौका र एक छक्का हाने । धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए ।

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक÷एक विकट लिए । जारी विश्वकपमा श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७