यही वर्ष १० विमान थप्छौं, दसैंअघि नै प्रक्रिया सुरु हुन्छ : मन्त्री किराती


२८ आश्विन २०८०, आईतवार
Sudan kirati 1
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने बताएका छन् । आज (आइतबार) सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेला भाडादरमा हुने कालोबजारी नियन्त्रण गर्न आग्रहसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

इन्धनको मूल्यवृद्धिका कारण भाडादर बढेको भन्दै उनले चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गर्ने बताए । नेपाल वायुसेवा निगमको विमान थपेर भाडादरमा देखिएको विसंगति हटाउने एक मात्र विकल्प रहेको उनको भनाइ छ ।

उनले १० वटासम्म विमान नथपी पर्यटक नेपाल नआउने जिकिर गरे । दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अगाडि बढाइने उनले बताए । उनले आजदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका निम्ति नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गरिने उल्लेख गरे ।

नेविसंघका सभापति दुजाङ शेर्पाले चाडबाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरूलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिए । उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजार रुपैयाँसम्म पर्ने विषयमा निगरानी गर्न मन्त्री किरातीको ध्यानाकर्षण गराए । सरकारका नीति विद्यार्थीमैत्री बनाउनुपर्ने भन्दै उनले उच्च मूल्यवृद्धि रोक्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७