सेनाका उपरथी पाण्डेको बढुवा सिफारिस सूचना विवादमा, ‘उमेर कीर्ते’ को आरोप


४ कार्तिक २०८०, शनिबार
Tara Dhoj Pandey E2023 10 21 12 10 47

काठमाडौँ । नेपाली सेनाले भावी रथीको बढुवाका लागि हतार हतारमा प्रकाशित गरेको बढुवासम्बन्धी सूचनाका विषयमा सेनाभित्रै प्रश्न उठ्न थालेका छन् ।

हाल बहाल नै रहेका वर्तमान रथी सरोजप्रताप राणाको अवकास २०८० कात्तिक १२ गते हुने हो । तर, रथी राणा अवकास हुनु १४ दिनअघि २०८० असोज २९ गते नै बढुवा सिफारिसको सूचना हतारमा प्रकाशित गर्न किन प्रधानसेनापति प्रभुराम शर्माले आदेश दिए भन्ने प्रश्न सेनाका रथीवृन्दहरुले उठाउन थालेको स्रोतले जनाएको छ ।

२०८० कात्तिक १२ गते अघि पद नै खाली नभईकन नेपाली सेनाको रथी पदको बढुवा सिफारिसको सात दिने सूचना हतारमा प्रकाशित गर्न किन प्रधानसेनापति प्रभुराम शर्माले आदेश दिए ? स्मरण रहोस्, रथीमा बढुवाका लागि उपरथीद्वय ताराध्वज पाण्डे र अशोक सिग्देलको प्रतिस्पर्धा रहेको छ ।

वरिष्ठ उपरथीमध्ये सरकारले कसलाई बढुवा गर्छ त्यो व्यक्ति नै नेपाली सेनाको २०८१ भदौ २४ गतेबाट नेपाल गणराज्यको ४५औं प्रधानसेनापति बन्ने सम्भावना रहेको छ । नेपाली सेनाको भावी प्रधान सेनापतिको रोलक्रममा बस्ने गरी रथी पदमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डेले उमेर कीर्ते गरी नागरिकता बनाएको पाइएको छ ।

हालका सेनापति प्रभुराम शर्मापछि नेपाली सेनाको कमाण्ड सम्हाल्ने गरी रथीमा पदोन्नति सिफारिस भएका पाण्डेको बढुवा रोकी सैनिक ऐन तथा मुलुकी अपराध संहिताबमोजिम कारवाही गर्न माग गर्दै जंगी अड्डामा उजुरी समेत परेको छ ।
सैनिक मुख्यालयले असोज ३० गते सरोजप्रताप राणाको अवकाशपछि रिक्त हुन लागेको रथी पदमा बढुवा सिफारिसका लागि युद्धकार्य विभागका प्रमुख पाण्डेको नाम सिफारिस गरेको ७ दिने सूचना प्रकाशित गरेको थियो । यो सैनिक ऐन बमोजिमको सूचना हो ।

यो ७ दिनकै बीचमा पाण्डेले सरकारी कागजात कीर्ते गरेको र उमेर घटाएर नागरिकता बनाई जागिर खाएको प्रमाणसहित प्रधान सेनापति शर्मासहित प्रधानमन्त्री, रक्षा र संसदको राज्य व्यवस्था तथा सुशासन समितिलगायतका निकायमा लिखित उजुरी परेको हो ।

मन्त्रिपरिषदले पाण्डेलाई बढुवा गरिसकेको छैन । यद्यपि उमेर विवाद बाहिर नआउँदै उनले शक्ति केन्द्रमार्फत आफ्नो बढुवाको निर्णय गराउन राजनीतिक नेतृत्वलाई समेत दबाब बढाएका छन् । उनको उमेर कीर्तेसम्बन्धी विवादबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का जानकार रहेको स्रोतको दावी छ । उजुरीमा उपरथी पाण्डेले २०४३ सालमा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुने बेला २ वर्ष उमेर घटाएर नागरिकता बनाएको पाइएको छ । जबकी उनका अरु सरकारी कागजातमा अर्कै जन्म मिति छ ।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ मघ १२ गते उल्लेख छ । तर, नागरिकतामा भने २०२३ साल मंसिर १३ गते बनाइएको छ । पाण्डे २०४३ सालमा सेनामा भर्ती हुने बेला उनको नागरिकतामा उमेर घटाइएको उजुरीमा उल्लेख छ । २०२१ म जन्मिएका पाण्डेले २०४३ मा जागिर खाने बेला २२ वर्ष नाघेको हुनाले २१ वर्षमुनिको उमेर हदका कारण नागरिकतामा उमेर घटाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७