नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य


१० कार्तिक २०८०, शुक्रबार
cricket

काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतमा नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भुर्तेलले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल बनाएको हो । भुर्तेलले ५० रन बनाए । उनले २९ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो छैटौं अर्धशतक हो । उनले पहिलो विकेटका लागि आसिफ सेखसँग पाँच ओभरमा ४३ रनको साझेदारी गर्दै नेपालले उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, त्यसपछिका ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन । आसिफ सात रनमा आउट भएका थिए ।

नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन थपे । नेपालले पहिलो १० ओभरमा तीन विकेट गुमाएर ९५ रन बनाएको थियो । तर, त्यसपछि लगातार विकेट गुमाउँदा अन्तिम १० ओभरमा नेपालले ६७ रनमात्र थप्न सक्यो ।

नेपालबाट नवौं नम्बरमा ब्याटिङका लागि आएका करण केसीले १७ बलमा दुई चौका र एक छक्कासहित २३ रन थपे । यूएईका आयान अफजल खानले तीन विकेट लिए । अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनैद सिद्दिकीले एक विकेट हात पारे ।

नेपाल र यूएईसँगै हङकङ सहभागी श्रृंखलामा नेपालले लिग चरणमा शतप्रतिशत जितसहित फाइनलको यात्रा तय गरेको थियो । यूएईले भने चार खेलबाट दुई अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । यूएई र हङकङको समान अंक भए पनि नेट रनरेटका आधारमा मुहम्मद वसिमको कप्तानीमा रहेको टिम फाइनल प्रवेश गरेको हो । लिग चरणमा नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले, तेस्रो खेलमा पुनः हङकङलाई ७९ र चौथो खेलमा यूएईलाई पाँच विकेटले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७