नेपाली राष्ट्रिय क्रिकेट टोली ब्याट पनि विदेशी दूतावासको हात थाप्नु पर्ने अवस्थामा हो ?


१० कार्तिक २०८०, शुक्रबार
Indian Embassy 1536x1022 1

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले नेपाली क्रिकेट टोलीलाई खेल सामग्री हस्तान्तरण गरेको छ । बिहीबार काठमाडौंस्थित भारतीय राजदूतावासले कप्तान रोहित पौडेल नेतृत्वको नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरुका लागि दूूतावासमा आयोजित स्वागत समारोहमा खेल सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्पोर्ट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरे ।

ती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरुप प्रदान गर्‍यो ।

राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरेका थिए । उनले क्रिकेट सामग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए । नेपाल क्रिकेट संघका अध्यक्ष चन्द , संघका सचिव खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भारतीय दूतावास, बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र एसजेभीएनलाई धन्यवाद व्यक्त गरे ।

भारतीय दूतावासले हिजो नेपालको राष्ट्रिय क्रिकेट टीमलाई ब्याटसहितका क्रिकेट सामग्री वितरण गरिएको भन्दै आफ्नो फेसबुक पेजमा तस्बीरहरु राखेको छ । भारतीय दूतावासले देखाएको यो ‘सदासयता’ लाई नेपाली क्रिकेटप्रेमीले भने त्यति सहज रुपमा लिएका छैनन् । नेपालको क्रिकेट विकासमा टेवा दिन सँधै अनिच्छुक भारतले सस्तो प्रचारका लागि ब्याट वितरण गरेको उनीहरुको आरोप लगाउँछन् ।

उसो त क्रिकेटको महाशक्ति भारतले अहिलेसम्म नेपालको क्रिकेट विकासमा कुनै ठोस सहयोग गरेको छैन । क्यानले नेपालको क्रिकेट विकासमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) सँग बारम्बार सहयोग माग्ने गरेको छ । तर, क्रिकेटको महाशक्ति भारतले अहिलेसम्म कुनै ठोस सहयोग गरेको छैन । विगतमा एकपटक क्यानले बीसीसीआइसँग नेपालमा क्रिकेट रंगशाला निर्माणका निम्ति सहयोग माग्दै औपचारिक प्रस्ताव नै लगेको थियो । तर, बीसीसीआइले अस्वीकार गरेको थियो ।

यस्तै भारतको ‘ए’ टीम लाई नेपालसँग खेलाउनेदेखि, भारतीय क्रिकेट लिग (आइपीएल) मा नेपाली खेलाडीहरुलाई स्थान दिने लगायतका विषयमा बीसीसीआई पूर्णरुपमा अनुदार छ । विश्वकै धनी र शक्तिशाली क्रिकेट बोर्डका रुपमा परिचित बीसीसीआइले नेपालको क्रिकेटमा सहयोगभन्दा असहयोग धेरै गरेको आरोप लाग्दै आएको छ ।

यता क्यानका नव निर्वाचित महासचिव पारस खड्का भने आफू आउनुभन्दा अगाडि नै क्रिकेट सामग्री सहयोग गर्ने कुरा अगाडि बढिसकेको बताएका छन् । उनी भन्छन्, ‘यो मेरो योजनामा भएको होइन । चार महिना अघिबाटै प्रक्रिया सुरु भएको रहेछ । म क्यानको सचिवको हैसियतले कार्यक्रममा उपस्थित भएको मात्र हुँ ।’ उनले दूतावासले गरेको यो सहयोगलाई नकारात्मक रुपमा लिन आवश्यक नरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७