श्यामशिलाको छुर्पी बाह्य बजारमा


२ मंसिर २०८०, शनिबार
chhuri bhojpur

–युवराज विष्ट
भोजपुर । भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो ।

दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीय समेत बनेका छन् । आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उनले बताए । ‘यहाँको छुर्पी बाध्य बजारमा जान थालेको अवस्था छ’, राईले भने, ‘भोजपुरका डेरीबाट पनि आवश्यक पर्दा दूध लैजाने गरेका छौँ । बाँकी रहेको दूधको छुर्पी बनाउँछु । यहाँ उत्पादन भएको छुर्पी कुकुरका लागि विदेशका विभिन्न देशमा निर्यात हुने गरेको छ ।’

आफू स्वरोगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ । उत्पादित दूधलाई बजारसम्म पुर्‍याउन समस्या भोग्दै आएका किसानलाई अहिले सहज भएको छ । व्यवसायी राईले किसानको घर÷घरमा पुगेर दूध सङ्कलन गरेर बिक्री पनि गर्दै आएको बताए ।

‘यो ठाउँका मानिसमा दूध बिक्री गर्ने चलन थिएन’, राईले भने, ‘मैले व्यवसाय सञ्चालन गरेपछि उनीहरूलाई सहज भएको छ । किसानको घरसम्म पुगेर दूध सङ्कलन गरेर ल्याउँछु ।’ व्यवसायी राईले दैनिक दुई सय ५० देखि तीन सय लिटरसम्म दूध सङ्कलन गर्दै आएका छन् । पौवादुङमा गाउँपालिकाको विभिन्न क्षेत्रसँगै अरुण गाउँपालिको माचुङ, सोर्‍याङलगायत ठाउँमा पुगेर दूध सङ्कलन गर्दै आएको उनले जानकारी दिए ।

यी क्षेत्रका एक किसानले मासिक रु पाँच हजारदेखि ३० हजार हजारसम्मको दूध घरबाट नै बिक्री गरिरहेको राईको भनाइ छ । आफूले पशुपालनको लागि ६० रोपनी जग्गा लिजमा लिएको राईले जानकारी दिए । ‘विगतमा घरमा नै दूध खपत गर्दै आएका किसान अहिले व्यावसायिक बनेको अवस्था छ’, उनले भने, ‘दूध बिक्री भएपछि किसान पशुपालनमा लागेका छन् । उत्पादित दूधको बजारीकरणमा कुनै समस्या छैन ।’

यहाँका किसानको घर-घरबाट सङ्कलन भएको दूधलाई भोजपुर सदरमुकामका डेरीले पनि लैजाने गरेको राईको भनाइ छ । छुर्पी प्रतिकेजी रु एक हजार एक सय ५० मा बिक्री हुने गरेको छ । नौनी घ्यू प्रतिकेजी रु सात सय र खरुवा घ्यू प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री गर्दै आएको उनकी श्रीमती रमला राईले बताइन् । उत्पादित घ्यूँको बजारीकरणमा भने केही समस्या रहेको उनको भनाइ छ । राज्यको तर्फबाट सहयोग भए व्यवसायलाई थप विस्तार गर्न सहज हुने उनको भनाइ छ ।

आफ्नै ठाउँमा डेरी सञ्चालन भए पनि दूध बिक्री गर्न सहज भएको स्थानीय पशुपालक कृषक विक्रम राईले बताए । दूधको बेचबिखनमा सहज भएसँगै गाईपालनलाई थप विस्तार गरेको उनको भनाइ छ । ‘अहिले दूध बिक्रीको लागि सहज अवस्था छ’, उनले भने, ‘फर्मबाट नै दूध बिक्री गर्छु । विगतमा हाम्रो ठाउँमा दूध बिक्री गर्ने चलन नै थिएन । अहिले दूध बेचेर घर खर्च धान्ने अवस्था बनेको छ ।’

गाउँमा नै डेरी स्थापनाले किसानलाई सहजता भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । किसानले दूध बिक्री गरेर घर खर्च टार्ने अवस्था बनेको उनको भनाइ छ । ‘विगतमा पनि हाम्रो क्षेत्रमा प्रशस्त मात्रामा दूध उत्पादन हुन्थ्यो’, वडाध्यक्ष तामाङले भने, ‘तर बिक्री गर्नको लागि बजार थिएन । अहिले किसानलाई दूध बिक्रीको लागि कुनै समस्या छैन ।’ गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’ नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यो कार्यक्रमअन्तर्गत विगतका आर्थिक वर्षमा किसानलाइ १३ वटा उन्नत जातको भैँसी वितरण गरेको अध्यक्ष राईको भनाइ छ ।

‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘हामीले किसानलाई उन्नत जातको भैँसी वितरण गरिसकेका छौँ । अहिले यहाँ उत्पादन भएको दूध सदरमुकामसम्म जान थालेको छ । यही दुग्ध उद्योग खोलेर पनि किसानले दूधको परिकार बेच्न थालेका छन् ।’ गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७