जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी

‘एकसरो त्रिपाल बाहेक केही पाएका छैनौं’, चिसो र भोकले मर्ने बेला भो’


२ मंसिर २०८०, शनिबार
JAJARKOT IMG 98021
त्रिपालमा अस्पताल … भूकम्पका कारण नलगाड नगरपालिका–७ स्थित १५ शैंयाको नगर अस्पताल त्रिपालमा सञ्चालन भएपछि उपचाररत बिरामीहरु । तस्वीर : हेमन्त केसी / रासस

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो । उनकी छोरी घाइते भइन् । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किएकी छन् । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो । भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन् । घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैं हुने गरेको छ ।

आमा देउमा भग्नावशेषमा परिणत भएको घरभित्र रहेका मालसमान निकाल्न लागेकी छन् । घरभित्र भएका कुनै पनि सामान देउमाले सग्लो पाएकी छैनन् । अहिले उनको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ । संयोगले भूकम्प गएको समयमा देउमाका छोरा नवीनसहित अन्य घरका आफन्त छिमेकी गाउँ मैदेमा तिहारको लागि रोटी तयार गर्नका लागि गएका थिए ।

घरमा आमा, छोरी मात्र भएको समयमा आएको भूकम्पले छोरीलाई घाइते बनायो भने आमाले छोरीलाई उद्धार गर्न सफल भएको बताइन् । त्यस्तै छिमेकी कर्णबहादुर रानाले दाइ नै गुमाउनु पर्‍यो । माटाले निर्माण गरेका कच्ची घरमा सुतेको कर्णका दाइ रवीन्द्र (गाउँमा बोलाउने नाम) बोल्न नपाइ भूकम्पको झड्कामै ज्यान गएको थियो ।

अहिले घुयलनेटाको पूरै गाउँ शोकमा रहेको छ । घाइते भएका र मृतकका आफन्त अहिले पनि सामुहिकरुपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ । यो सदरमुकामभित्रको पालिका भए पनि अति दुर्गम बस्तीभित्र पर्दछ । जनयुद्धकालमा समेत यहाँको बस्तीमा धेरै पटक बमबाढी गरिएको थियो ।

पटक–पटक पीडा खप्दै आएको यो गाउँ फेरि पनि भूकम्पको मारमा परेको छ । डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोग समेत देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताए । भेरी नगरपालिका–४ खलङ्गास्थित कस्तुरी बोर्डिङ स्कुलको प्राङ्गणमा त्रिपालमा एक सातादेखि बसिरहेकी १८ दिनकी सुत्केरी विमला तिरुवा त्रिपालमा दैनिकी चलिरहेको छ । चिसो र आवश्यक स्याहारसुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी रहेका छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हात खुट्टा सुनिएको छ ।

कुशे गाउँपालिका–९ निवासी १८ वर्षीय उनी सदरमुकामस्थित गोरख तिरुवा सदरमुकाममा भाडामा बस्दै आएको समयमा भूकम्पले घर भत्किएपछि अहिले त्रिपालमै सहारामा खुला चौरमा रहेकी छन् । भूकम्प जानुभन्दा तीन अघि सुत्केरी भएकी उनी दैवले हात थाम्दा बाँचेको बताउँछिन् । श्रीमान् वीरेन्द्र ज्याला मजदूरी गरेर परिवारको समस्य समाधान गर्दै आएको उनको भनाइ छ ।

भूकम्प गएदेखि त्रिपालको सहारामा रहेको यो परिवारले नयाँ भाडामा बस्नका लागि घर पाएको छैन । पाँच जनाको परिवारलाई कामै गरेर जीवन धानिरहेको यो परिवार अहिले कामविहीन मात्र होइन, घरमा खाने कुरा नभएर हैरानमा रहेको छ । त्रिपालकै सहारामा बसिरहेको अर्को हेमन्त जंग सिंहको परिवारलाई त्यस्तै खालको समस्य रहेको छ । एउटा त्रिपालभित्र सबै परिवारका सदस्य बस्दा दैनिक समस्या हुँदै आएको छ । साना नानी, बाबु त्रिपालभित्र बिरामी भएका छन् भने ठूलालाई समेत बस्न मुस्किल परिरहेको छ ।

भेरी नगरपालिका–१ डिँगा कि २१ वर्षीया पुष्पा सिंहको दुई महिना अगाडि मात्र निर्माण गरेको घर भूकम्पले भत्किएपछि त्रिपालमा बस्दै आएकी छन् । दुई महिनाको छोरासहित बस्दै आएकी उनको दैनिकी पनि समस्याले गाजेको छ । छोरीलाई आँखा पाक्ने रोगले हैरान बनाएको छ ।

पुष्पाले भनिन्, ‘अरु नदेखिने समस्या त के हामीलाई थाहा छैन ।’ धन्न घर भत्किँदा बाँचेको जिन्दगी त्रिपालको सहारामा कसरी बाँच्ने सङ्र्घष सुरु भएको उनले बताइन् । ‘त्रिपालबाट पनि शीत चुहिन्छ । जसका कारण छोरी बिरामी परेकी हो । न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै । घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने ?’, उनले भनिन्, ‘राहतका नाममा अहिलेसम्म एक सरो त्रिपाल बाहेक केही पाएका छनौँ । चिसो र भोकले मर्ने बेला भो ।’

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन् । उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको कमी भएको बताइन् ।

‘जाजरकोटका ९५ प्रतिशत मानिस घरबाहिर छन् । शौचालय भत्किएका छन् । पोषणको अभाव छ । सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन नसकेको छैन । शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ । धेरै मानिस मानसिकरूपमा डराइरहेको अवस्था छ’, नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर रावतले भने । प्रमुख रावतले गर्भवती र सुत्केरीलाई तत्काल पोषिला खानेकुरा दिएर रोग प्रतिरक्षा शक्ति बढाउनु पर्ने अवस्था रहेको बताए ।

स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिको व्यवस्थाका लागि पहल भइरहेको उनको भनाइ छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन् । पालिकाका स्वास्थ्य संस्थासमेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकैपटक उपचार गर्न सम्भव नहुने देखिएको छ ।

नलगाडको नगर अस्पताल त्रिपालमा चलिरहेको छ । बिरामीलाई भर्नादेखि सबै काम त्रिपालबाट भइरहेको छ । त्यस्तै बारेकोटको लिम्सास्थित १० शैंयाको अस्पताल समेत त्रिपालमा चलिरहेको छ । जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७