नेपाल प्रहरीको सात एसपीमा १२ डीएसपीको दौड, गृहमन्त्रीलाई लाग्यो यस्तो आरोप


४ मंसिर २०८०, सोमबार
police head

काठमाडौँ । नेपाल प्रहरीमा अहिले सात प्रहरी उपरीक्षक (एसपी) पद रिक्त छ । गएको शुक्रबार पाँच एसपी बढुवा भएर (प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएसँगै रिक्त पद संख्या सात पुगेको हो । प्रहरी प्रधान कार्यालय अहिले रिक्त एसपी पद पूर्तिको तयारीमा छ । सात एसपी बन्नका लागि एक दर्जन प्रहरी नायब उपरीक्षक (डीएसपी) बीच प्रतिस्पर्धामा कस्सिएर लागेका छन् ।

बढुवाका लागि मापदण्ड पनि बनाइएको छ । तर, प्रहरीमा बढुवाका लागि कहिले काहीँ मापदण्डभन्दा बढी राजनीतिक चलखेलले काम गर्ने गरेको विगतले देखाउने गरेको छ । नियमावलीअनुसार कार्यदक्षता, कार्यसम्पादन, यसअघिको बढुवा, भर्ना वरीयता, नेतृत्व क्षमता, कार्य अनुभवलगायतका मापदण्डअनुसार बढुवा हुनुपर्ने हो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अहिले यो मापदण्ड नपछ्याएको आरोप पनि लागेको छ । एसपीबाट एसएसपी बढुवा निकाल्दा उनीमाथि यस्तो आरोप लागेको हो । वरीयताअनुसार प्रदीप क्षेत्री, अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे (क)सहित १२ जना डीएसपीहरू एसपी बन्ने प्रतिस्पर्धामा छन् ।

वरीयतामा क्षेत्री, जीसी, खतिवडा, ढकाल, ओलिया, रञ्जितकार, भट्ट अघिल्लो सात नम्बरमा छन् । तर केही अधिकारीले अहिले वरीयतामा पछाडि रहे पनि बढुवाका लागि चलखेल गरिरहेको आरोप पनि लाग्दै आएको छ । ‘प्रहरीको बढुवा मापदण्ड बनेको छ तर गृहमन्त्रीको ‘दवाव’ ले गर्दा आईजीपीले पनि आँखा चिम्लिने अवस्था अन्त्य भइसकेको छैन । एसएसपी बढुवामा पनि यो प्रष्ट भइसकेको छ’ बढुवाप्रति असन्तुष्ट प्रहरीका एक उच्च अधिकारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७