व्यवसायीले घाँटी नहेरी हाड लिएर अड्कियो भन्दै राष्ट्र बैंक र राज्यलाई दोष थोपार्नु गलत : गभर्नर


१५ मंसिर २०८०, शुक्रबार
Governor

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् ।

आज (शुक्रवार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरूले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनासो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए । उनले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गराएको उल्लेख गरे । उनले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरूलाई आग्रह गरे ।

उनले व्यवसायीले बैंकले १६-१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे । गभर्नर अधिकारीले व्यवसायीहरूले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरूका लागि प्रोत्साहन मिल्ने बताए । उनले ठूला व्यवसायीहरूले बैङ्कहरूबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गरे । उनले बैङ्कहरूको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरूले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पारे । उनले उद्योगी व्यवसायीहरूले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताए ।

उनले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरूलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताए । उनले भने ‘उद्योगी व्यवसायीहरूले बैङ्कहरूबाट ऋण लिनुहुन्छ तर आफ्नो योजना बनाउनु हुँदैन । मैले ऋण लिनुपर्ने कति हो र व्यवसायको साइज कति हो । व्यवसायीहरूले ऋण लिने बेलामा आफ्नो घाँटी हेर्नु हुँदैन । एकै चोटि हड्डीको साइज लिनुहुन्छ । अनि अड्कियो भने त्यो समस्या राज्यलाई र राष्ट्र बैंकतिर थुप्रनु हुन्छ । जुन कुरा गलत छ । स्पष्ट रुपमा भन्नुपर्छ । उद्योगी व्यवसायीहरूको लागि बैंक तथा वित्तीय संस्थाहरूको ऋण नै मात्रै सबै कुरा होइन होला ब्याजले कति असर पर्छ । अहिले पनि बैङ्कहरूबाट ठूलो व्यवसायीहरूले ६.५ प्रतिशत देखि लिनुभएको छ । ३ वर्षदेखि अहिले पनि सुविधा लिइरहनुभएको छ । ९ प्रतिशत लिने धेरै व्यवसायीहरू हुनुहुन्छ । जसले पहिले नै फिक्स गर्नुभएको छ ।’

उनले भने, ‘बैङ्कहरूको ब्याजदर १० प्रतिशत भइराख्दा पनि ८ प्रतिशतसम्म ब्याजमा ऋण लिने व्यवसायीहरू पनि हुनुहुन्छ । नेताहरुकामा भाषण गर्दा व्यवसायीहरूले १८ प्रतिशत ब्याज लिएको छ भन्नुहुन्छ । यति बैङ्कहरूको १६ देखि १८ प्रतिशतसम्म ब्याज दिएको छ भने राष्ट्र बैंकको गुनासोमा त्यो स्टेस्टमेण्ट लिएर आउनुस् । व्यवसायीहरूसँग बेसी लिएको ब्याज बैंकबाट फिर्ता गराउँछौँ । गत वर्ष ४ अर्ब ७६ करोड कमर्सियल बैङ्कहरूबाट बढी प्रिमियम लिएको रकम फिर्ता गरायौँ । बजारमा हैवा फैलाउने हिसाबले बैंकहरुले लिँदै नलिएको कुरा लियो भनेर बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउने लागि प्रोत्साहित गर्नेगरी कुरा गरिरहेका छौं । जुन कुरा गलत छ । वास्तविकता के हो त्यो हेर्नुपर्छ । कसैले १८ प्रतिशत ब्याज तिर्नुभएको छ । छैनन् । त्यसैले गर्दा बैंकको ब्याजदर निर्धारण गर्ने कुरा राष्ट्र बैंकले बजारलाई छाडेको छ । राष्ट्र बैंकले माइक्रोम्यानेजमेण्ट हेर्‍यो भन्ने कुरा आएको छ त्यो निजी क्षेत्रले हेर्नुभएको छ ।’

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसाबले समस्यामा रहेको बताए । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए । उनले सरकार र राष्ट्र बैंकका हरेक नीतिहरू आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको बताए । उनले नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरू उल्लेख भएको दाबी गरे । उनले राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गरे । उनले बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? भन्दै प्रश्न गरे । उनले अर्थमन्त्रीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नु गलत भएको उल्लेख गरे

उनले भने ‘मुलुकको अर्थतन्त्र संरचनागत हिसाबले समस्यामा छ । हामी सबैलाई थाहा छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । रेमिट्यान्सबाट आएको रकमले हामी आयात गर्दछौँ । आयातबाट नै हामी उपभोग गर्दछौँ । त्यही आयातमा कर लगाएर राज्य चलाउँछौँ । अनि आन्तरिक उत्पादनलाई इगनोर गर्दछौँ । कयौं नीतिगत व्यवस्था आन्तरिक उत्पादन बढाउने र अर्थतन्त्रको मुख्य ड्राइभर आन्तरिक उत्पादनलाई बनाउने प्रयास नभएका भने होइनन् । भइरहेका छन् । राज्यको मुख्य दृष्टि नै त्यही छ । नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरू उल्लेख भएका छन् ।

त्यति हुँदाहुँदै पनि हामीले त्यो नीति अनुरूपमा काम गर्न सकिरहेका छैनौँ । कुरा के आउँछ भन्दा अर्थमन्त्री र गभर्नरको सम्बन्ध,वित्त र मौद्रिक नीतिको सम्बन्धका विषयमा बढी कुराहरू आउँछन् । म स्पष्ट रुपमा भन्छु । हाम्रो सम्बन्धमा अफट्यारो र खोट केही छैन । बजेटमा भएको कुन चाहिँ नीतिलाई मौद्रिक नीतिले सपोर्ट गरेन । कुन कुरामा समस्या छ । राष्ट्र बैंकको मौद्रिक नीतिलाई राज्यको तर्फबाट कहाँबाट सहयोग भएन । त्यो कुरा मैले कहीँ पनि फलि गरेको छैन । जब मलाई फिल र समस्या छैन । भने रमाइलोको लागि कसैले पचाउँछन् की भनेर त्यो समन्वयमा लेखेर के हुन्छ ?’

गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैङ्कहरूको खराब कर्जामा समस्या आएको बताए । उनले राष्ट्र बैंकले बैङ्कहरूको खराब कर्जा थप नबढोस् भनेर नै नीतिगत रुपमा कडाइ गरेको बताए । गभर्नर अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताए । उनले व्यवसायीहरूले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गरे । उनले दक्षिण एसियामा अन्य देशको हेरेर नेपालका बैङ्कहरूको खराब कर्जा कम रहेको बताए ।

उनले भने ‘आर्थिक शिथिलताको कारण बैङ्कहरूमा खराब कर्जाको समस्या परेको छ । कर्जाको गुणस्तरमा परिरहेको छ । कर्जाको गुणस्तर खस्कनुको कारण राष्ट्र बैंकले लिएको कसिलो नीतिले पनि हो । राष्ट्र बैंकले किन कसिरहेका छौं भन्दा यस्तो बेलामा कस्नैपर्छ । भोलि बैंक वित्तीय संस्थाहरूमा समस्या पर्नसक्छ । खराब कर्जाको समस्या भएपनि नेट एनपीएमा दक्षिण एसियामा धेरै तल छौं । अरु मुलुकको जस्ता गुणस्तर तल आएको पनि होइन । बैङ्कहरूमा नेट एनपीए १।५ प्रतिशत भन्दा माथि गएको छैन । त्यो महत्वपूर्ण कुरा हो । एनपीए छ । त्यसलाई नाफाबाट कति प्रोभिजन गरिएको छ र बैंकलाई कसरी सुरक्षित बनाएको छ भन्ने विश्लेषण गर्ने हो भने एनपीएको अगेन्समा गरिएको प्रोभिजन महत्वपूर्ण छ । बैंकिङ सिस्टम सुरक्षित छ । साउण्ड छ । आम नागरिकको मनोबल राम्रो बनाइरहेको छ । बैङ्कहरूमा भोलिको दिनमा पनि राष्ट्र बैंकको नीतिको कारण समस्या आउने छैन । बाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा छौं । १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता छ । राज्यका कुनैपनि अंग,निजी क्षेत्रको परियोजनाहरू अगाडि बढाउँदा विदेशी मुद्राको नपुग होला भनेर डराउनुपर्ने अवस्था छैन ।’

गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दा माथि नगएको बताए । उनले नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताए । उनले राष्ट्र बैंकको नीतिको कारण बैङ्कहरूमा तत्काल समस्या आउने अवस्था नभएको बताए । उनले बाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा रहेको भन्दै १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७