नायक निखिल उप्रेती भन्छन्–गणतन्त्रले देश खाईसक्यो, राजा चाहियो


३० मंसिर २०८०, शनिबार
nikhil upreti

काठमाडौँ । ‘देश गम्भीर संकटमा छ’ भन्ने निष्कर्षमा पुगेका कट्टर राजतन्त्रवादीहरुले वर्तमान संविधान, संघीयता र गणतन्त्रले नेपालको हित नहुने धारणा व्यक्त गरेका छन् ।

आज (शनिबार) ठमेलको एक होटलमा आयोजित अनौपचारिक अन्तरक्रियामा कानून व्यवसायी, पत्रकार, सेनाबाट निवृत्त अधिकृत, व्यवसायी, राजनीतिक दलसँग अलग्गिएका नेता, सिनेकर्मी र विभिन्न पेशा व्यवसायमा आवध्द मानिसहरुवीच देशमा राजसंस्था अपरिहार्य रहेको भनेर पैरवी गरिएको थियो ।

अमेरिका निवासी पूर्व नेपाली नागरिक वोधबहादुर राउतको संयोजनमा आयोजना भएको अन्तरक्रियामा पत्रकारहरु पी खरेल, युवराज गौतम, कानून व्यवसायी बालकृष्ण न्यौपाने, नेपाली कांग्रेस परित्याग गरेका नेता खेमराज सेढाईं, पत्रकारिताका अध्यापक यमबहादुर दुरा, व्यवसायी ओम सिटौला, सिने नायक निखिल उप्रेती, नेपाली सेनाका सेवा निवृत्त अधिकृत प्रेमसिंह बस्न्यात लगायतका व्यक्तिहरुले एक स्वरमा वर्तमान संविधान खारेज गरेर २०४७ को संविधान पुनस्थापना गर्नमा जोड दिएका थिए ।

सिने नायक निखिल उप्रेतीले भने गणतन्त्रले देश खाईरहेको तर्क गर्दै नेताहरुका कान र आँखा विदेशी शक्ति केन्द्रमा नियन्त्रित रहेको भनेर चर्को आलोचना गरे । उप्रेतीको आरोप थियो ‘लाश जस्ता नेताहरुले शासन चलाइरहेकाले गणतन्त्रमा केही बेवारिस व्यक्तिहरुको मात्र चलखेल रहेको छ ।’ पूर्व सैनिक अधिकृत बस्न्यातले ‘राजतन्त्रवादी भनेर दावी गर्ने कमल थापा, राजेन्द्र लिङ्गदेन, केशरबहादुर बिष्ट र दुर्गा प्रसाईं किन एकठाउँमा बस्न सक्दैनन्’ भन्दै उनीहरुको चर्को आलोचना गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७