अरूले पिठो बेचे, माओवादीले राम्रो चामल पनि बेच्न सकेन : प्रचण्ड


७ पुष २०८०, शनिबार
prachanda 2 2 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकारले गरेको कामलाई राम्ररी प्रचार गर्न नसकेको गुनासो गरेका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार बुढानीलकण्ठमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले अरू पार्टीहरूले नगरेका कामलाई पनि गरेँ भनेर प्रचार गर्दा माओवादीले गरेका कामलाई पनि प्रभावकारी रूपमा प्रचार गर्न नसकेको बताएका हुन् । ‘अरूले पिठो पनि राम्रोसँग कराएर बेच्दा राम्रो चामल पनि बेच्न नजान्ने भएको हो माओवादी,’ उनले भने ।

उनले आफू पहिलो प्रधानमन्त्री बन्दा मध्यपहाडी लोकमार्ग निर्माण, ३० हजार जनाको ऋण मिनाहा, एक लाखा बढीको ब्याज मिनाहा गरेको बताए । त्यस्तै दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाललाई लोडसेडिङमुक्त बनाएर उज्यालो नेपाल अभियानको थालनी गरेको बताए । यसपालि तेस्रो पटक प्रधानमन्त्री हुँदा आगामी डेढ वर्षपछि सिंगो देशभित्र एउटा पनि विद्युत् नपुगेको घर नहुने गरी काम गरेको बताए । सुशासन सामाजिक न्याय र समृद्धिको नयाँ अभियान चलाइएको र त्यसअन्तर्गत मिटरब्याजीहरूविरूद्ध आयोग र ऐन बनाए कारबाही गरी लाखौं किसानहरूलाई मिटरब्याजबाट मुक्त गरिएको प्रधानमन्त्री प्रचण्डले बता ए।

‘यति ठूलो काम पनि राम्रोसँग बिक्री गर्न सकेनौं, अरूले नगरेको काम पनि गरे जसरी प्रचार गर्छन् । हामीले गरेको पनि गरेको भन्न सकेनौं,’ उनले भने । नागरिकताको समस्या समाधानदेखि भारतलाई १० हजार मेघावाट विद्युत् बेच्ने सम्झौता, १० हजार ८०० मेघावाटको कर्णाली–चिसापानी परियोजना, बुढिगण्डकी जलविद्युत् आयोजना पुनः सुरू, उत्तरका नाका खोल्ने लगायतका थुप्रै कामहरू भएको उनको भनाइ छ ।

यसपालि जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय रूपमा पनि आफू नेतृत्वको सरकारले नेपाली जनताको पक्षमा ठूलो लडाइँ लडेको प्रधानमन्त्री प्रचण्डले बताए । २५ वर्षदेखि लावारिस भएर बसेको पञ्चेश्वर आफ्नै नेतृत्वको सरकारले टुंगो लगाएको उनल बताए । ‘ऐतिहासिक काम भएका छन् । जुन अहिलेसम्म कसैले गर्न सकेको थिएन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७