प्रधानमन्त्रीले सचिवालय, मन्त्री र सल्लाहकार फेर्छु, तर पछि हट्दिँन भन्नु भएको छ : पुन

‘झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु गलत’


७ पुष २०८०, शनिबार
Barsaman pun

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु गलत रहेको बताएका छन् । गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीको विकल्प अझ राम्रो पार्टी हुने तर राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरे ।

माओवादी केन्द्रको चन्द्रागिरी नगरपालिका–२ मा शनिबार भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो । तर, जनताको अवस्थामा सुधार आएको छैन । नेताको आचरण र व्यवहारमा सुधार आएको छैन । तीन जना राष्ट्रपति भए र आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो । त्यसैले हामीले आचरण र व्यवहार सुधार गर्नुपर्छ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन,’ उनले भने ।

गणतन्त्र प्राप्तीपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय जस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनले बताए । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अरु सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताए ।

‘अध्यक्षज्यु नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्दिका क्षेत्रमा राम्रो काम गरेको छ । सुनकाण्डविरुद्धको अभियान चलाएको छ । अरुले सुन पास गराइरहेका थिए । माओवादीको सरकारले समात्यो त के नराम्रो भयो?,’ उनले प्रश्न गरे । उनले मध्यपहाडी राजमार्ग माओवादीले बनाएको बताए। तर, त्यसलाई पनि एमालेले दाबी गरेको आरोप लगाए ।

गल्ती नगरे पनि प्रविधिको दुरुपयोग गरेर माओवादीविरुद्ध जनतालाई भ्रम पार्न खोज्नेप्रति सचेत हुनुपर्ने उनको भनाइ छ । ‘पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दैछ । आफ्नो सचिवालय, मन्त्री, सल्लाहाकार फेर्छु तर पछि हट्दिन, देश र जनताको पक्षमा काम गर्छु भन्नु भएको छ। परिणाम निकाल्छु भन्नु भएको छ । पार्टीले उहाँलाई साथ दिएको छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७