सर्लाही घटना छानविन गर्न तीन सदस्यीय समिति, मृतकको परिवारलाई १० लाख राहत

मृतकलाई शहीद घोषणालगायतका नौं बुँदे माग राख्दै प्रदर्शन कायमै


२१ पुष २०८०, शनिबार
collage 1

काठमाडौँ । सर्लाहीको बरहथवामा ३० वर्षीय युवा जयशंकर साहको ज्यान गएको घटना छानबिनका लागि सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । हिजो (शुक्रबार) भएको झडपमा साहको ज्यान गएको घटना छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् । यस्तै, सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ ।

barhathawa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिन र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । नगर अस्पतालको स्वामित्व विवादमा हिजो भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा वरहथवा–का साहको ज्यान गएको हो । स्थानीयले गोली हान्ने प्रहरीलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर शव उठाउन नदिएपछि साहको शव घटनास्थलमै रहेको छ । साहको मृत्युपछि प्रदर्शनकारीहरु थप उग्र बनेका छन् ।

आज (शनिबार) दोस्रो दिन पनि तनाव कायमै छ । प्रदर्शनकारीले शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । शव प्रदर्शनकारीको नियन्त्रणमा छ भने प्रहरी शव नजिक पुग्न सकेको छैन । मृतकका आफन्तसहित आन्दोलनकारीले दोषी प्रहरीको निलम्बन तथा कारबाही हुनुपर्ने, मेयर कल्पनाकुमारी कटुवालले राजीनामा दिनुपर्ने, ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षकको निलम्वन हुनुपर्ने र मृतकलाई शहीद घोषणा लगायतका नौं बुँदे माग अघि सारेका छन् । मृतक साहका भान्जा विवेक साहले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७