नेवानिको जहाजमा समस्या, बैंकक उड्न लागेका १५२ यात्रु अलपत्र


२३ पुष २०८०, सोमबार
airport

काठमाडौँ । काठमाडौंबाट बैंकक उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजमा समस्या देखिएको छ । जसका कारण उड्न लागेका १५२ यात्रु अलपत्र परेका छन् ।

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दुई पटक उड्ने प्रयास गर्दा पनि नसकेपछि १५२ यात्रु अलपत्र परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाकाअनुसार, निगमको आरए ४०१ उडान नम्बरको न्यारोबडीले दुई पटक उड्ने प्रयास गर्दा नसकेपछि फेरि ५ बजे यात्रुलाई पुन जहाजबाट ओरालेर टर्मिनल भवनमा फर्काइरहेको छ ।

‘पहिलो पटक साढे दुई बजे उड्नका लागि एप्रोनबाट पुसब्याक गरेर जहाजलाई ट्याक्सी–वेमा पठाइएको थियो, प्राविधिक समस्या देखिएकाले चालकदलले एप्रोनमा फर्काए,’ प्रवक्ता झाले भने, ‘दोस्रो पटक पुन साढे ४ बजे यात्रु राखेर फेरि जहाज उड्ने तरखरमा थियो । फेरि प्राविधिक समस्या दोहोरिएको जनाउँदै पार्किङ्ग वे नम्बर ६ मा राखिएको छ ।’

निगमसँग अर्को जहाज नभएकाले यी यात्रु समयमै उड्ने टुंगो लागिसकेको छैन । नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जहाजको हाइड्रोलिक सिस्टममा समस्या देखिएको जानकारी प्राप्त भएको बताए । उडानमा संलग्न एक कर्मचारीले निगमको विमानस्थलमा रहेको कार्यालयमा स्पेयर्स पार्टस भेटिए तीन घण्टा मर्मत गर्न लाग्ने तर चालक दलको उडान समयअवधिका कारण बैंककबाट जाने र फर्किने उडान प्रभावित हुने बताए ।

उक्त उडानमा रहेका यात्रु लक्की पूर्वेले २ बजेर ४० मिनेटमा उड्नुपर्ने जहाज निगमले बेलैमा नउडाउँदा यात्रुहरु चेकइन काउन्टरमा आन्दोलन गरिरहेको बताए । ‘हामीलाई दुई–दुई पटक जहाजमा राख्ने र ओराल्ने काम भयो,’ बैंकक जान लागेका यात्रु पूर्वेले भने, ‘हामी अहिले विमानस्थल भित्र चेकइन काउन्टरमा नाराबाजी गर्दैछौं । अर्को जहाज उड्ने छनक छैन । यात्रु सेवा विभागकी प्रमुख रिना राईलाई बोलाउन भनेको आएकी छैनन । टिकट काट्ने मान्छे मात्रै छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७