फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश


१५ माघ २०८०, सोमबार
iron
फाइल फोटो

पर्वत । पटक–पटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन अनुसन्धान मात्रै गरेर फर्किएको थियो ।

भूगर्भविद्ले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी) का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको थियो । कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको थियो । फलामखानीमा दुई किमी लम्बाइमा खानी फैलिएको छ । पटक पटक फलाम खानीको उत्खननको मागगर्दा कतैबाट तदारुकता नदेखाएपछि स्थानीय निराश भएका हुन् ।

कहिले केन्द्र सरकार त कहिले प्रदेश सरकारसँग उत्खननको माग गरे पनि नीति तथा कार्यक्रममा चर्चा हुने तर बजेट विनियोजन नहुने समस्या भएको स्थानीय युवा जीवनविक्रम उच्चैले बताए । धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ गते सम्झौता पनि भएको थियो ।
उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले नै अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको महाशिला वडा नं ६ का वडाध्यक्ष गोविन्दबहादुर विकले बताए । उक्त फलाम खानी सदरमुकाम कुश्मा बजारबाट ४० किमी टाढा छ । महाशिलाको वडा नं ५ लुङ्खुदेउराली र वडा नं ६ फलाम खानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयले माग गर्दै आएका छन् ।

पछिल्लो समय गाउँपालिकाले खानी सञ्चालनका लागि चासो देखाएको छ । आजभन्दा ७३ वर्ष पहिला स्थानीयले उत्खनन गरेको फलामका सामग्री विसं २०४० सम्म पनि किन्न र देख्न पाइएको स्थानीय बताउँछन् । यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको पाका पुस्ताको भनाइ छ । खानीबाट निकालेको फलाम सिधै तताएर आवश्यक सामग्री बनाउन सकिने भए पनि पछि कोइलाको अभावमा उत्खनन गर्न छाडेको स्थानीय प्रेमबहादुर सुनारले जानकारी दिए ।

उतिबेला यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा, स्याङ्जाका विभिन्न गाउँमा बिक्री हुन्थे । आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलामा निर्माण भएका पुलमा समेत यहीँको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो । मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ । यहीँको फलाम निकालेर बिक्री गरेर अहिलेभन्दा पाँच दशकअघिसम्म फलाम खानीका करिब चार सय परिवारको रोजीरोटी चलेको थियो । गाउँभरि फलामको खानी भएकैले यो गाउँको नामै फलाम खानी राखिएको वडाध्यक्ष विकले बताए ।

फलाम खानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना पहिले फलामको खानीमै बास बस्ने गरेको वडाध्यक्ष विकको भनाइ छ । यहाँको फलामखानी उत्खनन हुने हो भने मुलुककै आर्थिक अवस्था सुधारमा फाइदा पुग्नुका साथै सयौँ युवायुवतीले रोजगारीको अवसर पाउने उनी बताउँछन् । घरदैलोमा भएको फलामको खानी उत्खनन गर्न नसकेर आयातीत फलाम प्रयोग गर्नुुपरेको स्थानीय बलबहादुर क्षेत्रीले बताए । तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० मा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयास गरेको भए पनि सम्भव नभएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७