दुई वर्षमै डेढ अर्ब अनलाइन ठगी कारोबार, ३४ जनाको उजुरीपछि पक्राउ

११ कम्पनीको नाममा डम्बरले खोलेका थिए चार खाता


१६ माघ २०८०, मंगलवार
Dambar Shah

काठमाडौं । सप्तरी राजविराजका डम्बर साह अनलाइन ठगी आरोपमा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसनधान कार्यालयको प्रहरी टोलीले उनलाई पाँचथरबाट पक्राउ गरेको हो ।

उनले दुईमै अनलाइनबाटै करिब डेढ अर्ब ठगी गरेको पाइएको छ । पछिल्लो समय विभिन्न पुरस्कारका नाममा गरिने ठगीमा सर्वसाधारण सजिलै पर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जालबाट ठगिएको भन्दै आउने उजुरी केलाउँदै जाँदा अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा अकाउन्ट ठगी कार्यमा पटक–पटक प्रयोग भएको प्रमाण जुटायो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार उक्त अकाउन्टविरुद्ध कार्यालयमा ३४ जनाको उजुरी परेको थियो । उजुरी पछ्याउँदै जादा प्रहरीले डम्बरको ठगी धन्दा पत्ता लगाएको हो । उनको खातामा दुई वर्षमा एक अर्ब ४९ करोड रुपैयाँको अनलाइन कारोबार गरिएको थियो ।

अनलाइन ठगी गरेको भन्दै अपराध अनुसनधान कार्यालयमा हरेक वर्ष १२–१३ सय उजुरी आउने गर्छ । यस्तै उजुरी पछिल्लो समय बढ्दो क्रममा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरले बताए । साहलाई ताप्लेजुङबाट फर्किदै गर्दा बाटोमै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले क्रिप्टो अकाउन्टमा पनि पैसा लोड गर्ने गर्थे ।

अनलाइन पैसा चाहिनेलाई स्क्यानरबाट पठाइ दिने गर्थे । क्यास चाहिनेलाई नगद नै पुर्‍याउने गर्थे । आफूलाई इन्जिनियर हुँ भन्दै शाहले विभिन्न व्यक्तिलाई प्रलोभनमा पार्ने गरेको खुलेको छ । उनले अमेरिकामा मात्रै चलाउन सकिने क्यास एप समेत चलाउने गरेका थिए । नेपालमा ईसेवा, खल्तीलगायतका एप जस्तै डिजिटल पेका लागि अमेरिकामा क्यास एप चलनमा छ ।

क्रिप्टोकरेन्सी कारोबार गर्ने सात जना समातिए
क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ७ जनालाई पक्राउ गरेको छ । अवैधरूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत् जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, अरियन स्टार्स जस्ता खेल खेलाइरहेको सूचनासँगै प्रहरीले यो गिरोहको खोजी गरेको थियो । नेपालमा कुनै पनि अनलाइन जुवा खेल्न कानुनले बन्देज गरेको छ । पक्राउ पर्नेमा सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७