अमेरिकाद्वारा रुसविरुद्ध पाँच सय बढी नयाँ प्रतिबन्ध घोषणा


१२ फाल्गुन २०८०, शनिबार
biden putin Z9odtTRzDR

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ । उसले व्यक्ति र संस्थाहरूविरुद्ध लगाएका प्रतिबन्धहरू ५०० भन्दा धेरै छन् ।

अमेरिकाले रुसद्वारा युक्रेनमाथि गरिएको हमला तथा युक्रेनी भूभाग कब्जा तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएका छन् ।

व्यक्तिगत वा संस्थागत गरी १०० जतिलाई निर्यात प्रतिबन्ध लगाइएको छ । पछिल्लो अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रमा कस्तो प्रभाव पर्नसक्छ भन्ने स्पष्ट छैन । एउटा विज्ञप्तिमा अमेरिकी राष्ट्रपति बाइडनले विदेशमा गरिएको आक्रमण र देशभित्रै भइरहेको दमनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अझ ठूलो मूल्य चुकाउने’ कुरालाई सुनिश्चित गर्ने जनाएका छन् ।
रुसी विपक्षी नेता नभाल्नीको जेलमा निधन भएको एक सातापछि अमेरिकाले त्यस्तो प्रतिबन्ध लगाएको हो । उनको मृत्युमा रुसी राष्ट्रपति दोषी रहेकोमा कुनै शङ्का नभएको बाइडनले बताए ।
ईयूको पनि प्रतिबन्ध
युरोपेली सङ्घ ईयूले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकाहरूलाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न भएका भन्दै २०० जति व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । रुसले ती आरोपहरूको खण्डन गर्दै आएको छ । नयाँ प्रतिबन्ध घोषणाको प्रतिक्रियास्वरुप रुसी विदेश मन्त्रालयले रुसमा प्रवेश गर्न नपाउने सूचीमा युरोपेली सङ्घका थप अधिकारीहरूलाई समावेश गरेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७