नेपाललाई छैटौं सफलता : कुशल, प्रतिश र करणले लिए २/२ विकेट


१९ फाल्गुन २०८०, शनिबार
nep

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्सबिरुद्ध छैटौं सफलता हात पारेको छ । फाइनलमा पुग्न नेपालका लागि निर्णायक मानिएको खेलमा नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएर खेलमा दबाब बढाएको छ । कुशल मल्ल, प्रतिश जिशी र करण केसीले २–२ विकेट लिए । तीनै जना खेलाडीले एउटै एउटै ओभरमा २–२ विकेट लिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १४ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ८२ रन बनाएको छ । कुशल मल्लले १० औँ ओभरमा २ विकेट लिएपछि नेदरल्याण्ड्स झन् अफ्ठेरो पर्‍यो । २ दिनअघि नामिबिया विरुद्ध २ सय ४७ रन बनाएको नेदरल्याण्ड्सका लागि शनिबार नेपालविरुद्ध रन बनाउन धेरै गाह्राे पर्‍यो । मल्लले ९ दशमलब ५ ओभरमा नोय क्रोयसलाई ३ रनमा अविनाश बोहोराबाट क्याच गराए भने ९ दशमलब ६ ओभरमा आर्यन दत्तलाई शून्य रनमा आउट गराए । त्यसअघि खेलको ९ औँ ओभरमा प्रतिश जिशीले २ विकेट लिएपछि नेदरल्याण्ड्स सुस्ताएको थियो ।

उनले ८ दशमलब १ ओभरमा कप्तान स्कट एडवार्डलाई १८ रनमा तथा ८ दशमलब ५ ओभरमा म्याक्स ओ’ डउडलाई ३१ रनमा बोल्ड आउट गरे । आउट हुनुअघि तेस्रो विकेटका लागि स्कट र क्याक्सबीच ५० रनको साझेदारी भएको थियो ।
यसअघि नेपालका तीव्र गतिका बलर करण केसीले नेदरल्याण्ड्सका सुरुवाती दुई ब्याटरलाई पहिलो ओभरमै आउट गरेका थिए । करणले ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका थिए । उनले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए ।

यस्तै उनको छैटौं बलमा सिब्रान्ड एंगलब्रेक्ट आशिफ शेखबाट क्याच आउट भए । सुरुमै विकेट लिएपछि दबाबमा आएको नेदरल्याण्ड्सलाई कप्तान स्कट र म्याक्सले सम्हाल्दै लगेका छन् । आजको खेलमा नेपाल विजयी भए सिरिजको फाइनल पुग्ने सम्भावना हुनेछ । सुरुका दुई खेल हारेको नेपालले शुक्रबार नामिबियालाई ३ रनले हराएको छ। यसअघिको पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनको हार भोगेको थियो। नेदरल्याण्ड्सले आइतबार नामिबियासँग खेल्न बाँकी छ । शीर्ष २ स्थानमा रहने टोलीबीच मंगलबार फाइनल खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७