गृह दाबी गरेका रविले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री


२३ फाल्गुन २०८०, बुधबार
prachanda rabi lamichhane

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अहिले बालुवाटारमा भेटवार्ता चलिरहेको छ । नयाँ सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबण्डा गर्न बाँकी रहेका बेला गृह मन्त्रालयमा दाबी गरेका रास्वपा सभापति र प्रधानमन्त्री प्रचण्डबीच भर्खरैदेखि छलफल भइरहेको छ ।

यसअघि एमाले नेतृत्वकै गठबन्धन हुँदा गृहमन्त्री बनिसकेका रवि नागरिकता प्रकरणका कारण पदबाट हट्नुपरेको थियो । अहिले फेरि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले–रास्वपासहितको चार दलीय नयाँ गठबन्धन बनाएपछि मन्त्रालय बाँडफाँटबारे छलफल भइरहेको हो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार मात्र कांग्रेससहितको गठबन्धन भंग गर्दै एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनाएका हुन् । सोमबार नै उनले पुराना सबै मन्त्रीलाई बिदा गर्दै नयाँ ३ मन्त्री नियुक्ति गरी मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन् । एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङले मन्त्री पदको शपथ सोमबारै खाइसकेका छन् । तर उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ । हाल एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा सामेल सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीलगायत दल पनि थप्न छलफल जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७