जीर्ण सीमास्तम्भ धमाधम मर्मत हुँदै


५ चैत्र २०८०, सोमबार
sima bara 1

–सुरुचि भण्डारी
बारा ।
नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बारा जिल्लामा निर्माण गरिएका सीमास्तम्भ जीर्ण भएपछि त्यसको मर्मत सुरु भएको छ । सन् २०१४ मा बसेको सीमा कार्य समूह (बिडब्लुजी) को बैठकले मर्मतसम्भार गर्ने निधारण गरेको सीमास्तम्भको बारामा मर्मत सुरु गरिएको हो ।

sima bara 2

यसअघि नापी विभागबाट सीमास्तम्भ मर्मत गरिन्थ्यो तर २०७७ साल साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले मर्मत गर्नुपर्ने सीमास्तम्भको जिम्मेवारी सशस्त्र प्रहरी बललाई सुम्पिएको थियो । सरकारबाट मर्मतसम्भार गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले बाराको सदरमुकाम कलैया उपमहानगरपालिका, पचरौता तथा सिम्रौनगढ नगरपालिका, फेटा, विश्रामपुर, सुवर्ण, र प्रसौनी गाउँपालिकासँग सीमा जोडीएको नेपाल भारतको ६० किलो मिटर सीमा क्षेत्रमा रहेको ६८६ स्तम्भ छन् ।

बारामा रहेको ६८६ स्तम्भमध्ये भारतले जोड नम्बरका र नेपालले विजोड नम्बरका सीमास्तम्भ मर्मत गर्ने सहमति अनुसार नेपालले मर्मत सुरु गर्न थालेका हुन् । ११४ वटा सीमास्तम्भमध्ये हाल ११२ वटा सीमास्तम्भ मर्मत, रंगरोहन गर्ने काम भईरहेको छ भने दुई वटा स्तम्भ पुनर्स्थापना गनुपर्ने देखिएको हो । यी दुई स्तम्भ पूर्णरुपमा क्षति भई भत्किएको छ भने पूर्णरुपमा क्षति भएको स्तभ्भ पुनर्स्थापना भने अर्को सीमा कार्य समूह (बिडब्लुजी) को बैठकले निर्णय पछि मात्रै हुने बताइएको छ ।

sima bara 2

नेपालले सीमास्तम्भ मर्मतको काम सुरु गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले जानकारी दिए । पछिल्लो केही वर्षयता बाराका सीमा नाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ । नेपाल सरकार र भारत सरकारको संयुक्त टोलीले सीमास्तम्भ मर्मतको काम सुरु गरेको हो । लामो समयसम्म सीमास्तम्भ मर्मतको काम नहुँदा बनाइएका स्तम्भ भत्किएका थिए ।

‘नेपाल र भारतको संयुक्त टिम छ, यही टिमले सीमास्तम्भ मर्मतको काम अघि बढाएको हो,’ सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले भने, ‘जोर नम्बर भएको सीमास्तम्भ भारततर्फबाट र बिजोर नम्बर रहेको सीमास्तम्भको मर्मत नेपाल सरकारको तर्फवाट गरिन्छ, मर्मत गर्दा संयुक्त कार्यदल सँगसँगै हुन्छ ।’ सरकारले दिएको जिम्मेवारीअनुसार सशस्त्र प्रहरी बलले भारतीय पक्षसँग समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक सिंहले बताए ।

sima bara 4

पूर्वमा रौतहट र पश्चिममा पर्साको सीमानासम्म ६० किलोमिटरमा बारा जिल्लामा मात्रै ६८६ वटा सीमास्तम्भ छन् । यीमध्ये अहिले ११२ वटा जीर्ण स्तम्भ मर्मत भएका छन् । तीमध्ये दुईवटा सीमास्तम्भ पुनर्स्थापना गर्नुपर्ने छ । सीमामा तीन किसिमका स्तम्भ छन्, मुख्य स्तम्भ जङ्गे पिल्लर, मध्यम खालको सहायक स्तम्भ र सानो आकार रहेका छन् । नेपालले जोर र भारतले विजोर नम्बर गरी आधा–आधा पिल्लर बनाउने सहमति भएको थियो ।

भारतीय पक्ष सुस्त
भारतीय पक्षको जिम्मामा रहेका पिल्लरहरु मर्मत गर्ने जिम्मा एसएसबीले पाएको छ तर भारतीय तर्फले जिम्मा पाएका पिल्लर मर्मत भने सुस्त गतिमा भइरहेको पाइएको छ । जोर नम्बर भएको सीमा स्तम्भको मर्मत तथा रंगरोगन भारतले गर्ने सहमति भएता पनि भारतले भने क्षतिग्रस्त भएका स्तम्भको मर्मतका निम्ति कुनै कार्य गरेको छैन । भरतीय एसएसबीका अनुसार भारतीय पक्षले समयमै काम पूरा गर्ने बताएको छ । एसएसबीले भारततर्फ निर्माण कार्यमा सुस्तता देखिएको कारण बजेटको अभावमा कामले गति नलिएको र भारत सरकारले समयमै पूरा गर्छौं भनेको हुँदाँ चाँडै बजेट आउने उनले बताए ।

sima bara 5

सन् २००७ मा नेपाली प्राविधिक टोलीले गरेको अध्ययनअनुसार नेपाल–भारतको सीमा क्षेत्रमा नदीमा रहेको ६४० सहित झण्डै ८ हजार पिल्लरहरु भेटिएका थिए । जमिनमा रहेका १,२४० वटा पिलर हराएको पाइएको थियो । नेपालको सर्भे विभागका अनुसार त्यतिखेर २ हजार ५ सय पिल्लर मर्मत गर्नुपर्ने र ४ सय वटा पिल्लर नयाँ निर्माण गर्नुपर्ने देखिएको थियो । नेपालको छिमेकी मुलुक भारतसँग सीमा जोडिएका क्षेत्रमा बेला–बेला विवाद आउने गर्छ । विशेष गरी भारतसँगको खुला सीमाका कारण सीमास्तम्भको सुरक्षा सधैं चासोको विषय बन्ने गरेको हो । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७