दुर्गा प्रसाईका ‘बडिगार्ड’ पक्राउबारे सर्वोच्चले माग्यो सरकारको जवाफ


७ चैत्र २०८०, बुधबार
sarbochha 1

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ‘बडिगार्ड’ को रुपमा सर्वोच्च प्रवेश गर्दा पेस्तोल र गोलीसहित पक्राउ परेका दुई जनाको बारेमा सर्वोच्च अदालतले सरकारसँग तीन दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ ।

सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका दुई बडिगार्डलाई मुद्दा चलाउन मंगलबार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएपछि सर्वोच्चले आज यस्तो आदेश दिएको हो । उनीहरुलाई मुद्दा चलाउन लागेको र थुनामा राख्नु गैरकानुनी भएको भन्दै परिवारका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालिएको थियो ।

पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न सात वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट हालेकी थिइन् । सो रिटमाथि सुनुवाइका क्रममा न्यायाधीश सारङ्गा सुवेदीले तीन दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा आदेश दिएकी हुन् ।

यस्तै पक्राउ परेका अर्का बडिगार्ड दीपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि न्यायाधीश महेश शर्मा पौडेलले तीन दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका हुन् । सोमबार सर्वोच्च अदालत परिसरबाट जर्मनीमा निर्मित अत्याधुनिक लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका ती दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइका क्रममा उनका बडिगार्डहरू हतियार लिएर प्रवेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७